काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा कार्यरत कर्मचारी जाली पासपोर्टवाला नागरिकलाई लाख–लाखका गड्डी लिएर युरोपतिर उडाइरहेका छन् । भारतीय नागरिकलाई गलत र गैरकानुनी रूपमा नेपालबाट युरोप उडाउने तीनजना कर्मचारीलाई अहिले पनि नसियतस्वरूप विभागमै हाजिर गराइएको छ । तर, अघिल्लो साता मात्र नक्कली राहदानी भएको भारतीय नागरिकलाई सहजै युरोप उडाउने कर्मचारीलाई भने विभागले छुट दिइरहेको छ । अघिल्लो साता कार्थिक शानमुगमलाई अध्यागमन कार्यालय विमानस्थलका कर्मचारीले बेलायतका लागि उडाएका थिए । उनी बीचबाटै फिर्ता पठाइए । फर्किएर नेपाल आउनासाथ कार्थिकलाई विमानस्थलमा कर्मचारीले पक्रिए । पासपोर्ट कब्जामा लिइयो । कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा राखियो । पासपोर्ट सक्कली हो वा नक्कली भनी पत्ता लगाउनका लागि विभागले भारतीय राजदूतावासको सहयोग लियो । दूतावासले कार्थिकको पासपोर्ट नक्कली भएको प्रमाणित गरिदियो ।
यसबाट थाहा भयो कि उनी नक्कली पासपोर्टबाट नेपाली कर्मचारीलाई घुस दिएर उडेका रहेछन् । उनको पासपोर्टमा अध्यागमन विभागका कर्मचारीले टाँसिदिएको स्टिकर नम्बर ६०८४८१२ रहेको छ । कार्थिकले स्टिकर टाँसेर उडान अनुमति दिने कर्मचारीलाई घुस खुवाएको स्विकारिसकेका छन् । उनले एक लाख रुपैयाँ अध्यागमन विमानस्थलका कर्मचारीलाई खुवाएर उडेका रहेछन् । उनको नक्कली पासपोर्टको नम्बर एफ५७१९३७६ हो । जाली पासपोर्ट प्रयोगकर्ता कार्थिकलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया चलिरहे पनि उनको नक्कली पासपोर्टलाई पैसा असुलेर सक्कलीसरह मान्यता दिई उडाउने अध्यागमनका कर्मचारीलाई भने उन्मुक्ति दिइएको छ ।
स्मरण रहोस्, केहीअघि सुकदेव नाम गरेका भारतीय नागरिकलाई नै बेल्जियम पठाएर बहराइनबाट फर्काइएपछि उड्न स्वीकृति दिने कर्मचारीलाई समेत विभागमा तानिएको छ । सुकदेवका कागजात सक्कली पाइएपछि उनलाई उन्मुक्ति दिइसकिएको छ । सुकदेवलाई भारतीय दूतावासको नो अब्जेक्सन लेटरविनै पठाएको आरोपमा हाल कारबाही खेपिरहेका कर्मचारी भानुभक्त भट्टराई, ज्योति अर्याल र काशी काफ्ले हुन् । तर, जाली पासपोर्ट भन्ने थाहा पाएर पनि लाखा“ै रुपैयाँ असुली कार्थिकलाई उडाउने कर्मचारीलाई भने कुनै कारबाही गरिएको छैन । स्रोतका अनुसार अध्यागमन विभाग मुद्दा शाखाका शाखा अधिकृत टीका पोखरेल यो मुद्दालाई नै कमजोर बनाएर भारतीयलाई छुटाउन कोसिस गरिरहेका छन् । स्मरण रहोस्, मुद्दाशाखाकै अधिकृत फणिन्द्र दाहालको रोहवरमा टीकाले नै ती भारतीयको बयान लिने गर्छन् ।