सरकारले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । हवाई इन्धनको मूल्य बढेपछि विमानहरूको भाडा बढ्ने निश्चित भइसकेको छ भने बसलगायत अन्य सवारीसाधनको पनि भाडा बढाउन पेट्रोलियम पदार्थको मूल्यवृद्धि एउटा राम्रो बाहना बनेको छ । साथै, दसै“को मुखमा गरिएको यो मह“गी वृद्धिले कालोबजारी र सबै क्षेत्रको मह“गी वृद्धिका लागि गतिलो आधार प्रदान गरेको छ । अर्कातिर सरकारको विरोध गर्ने निह“ु चाहिरहेका विपक्षी दल तथा तिनका भ्रातृसंगठनले मह“गी वृद्धिकोे विरोधका नाममा सडक अवरुद्ध पार्दा जनताले थप सास्ती व्यहोर्नुपर्नेछ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बाध्यता भएको तर्क सरकारी पक्षबाट बारम्बार आउने गरेको छ । अर्कातिर तेलको मूल्य बढेपछि केही दिन झन्डा लिएर बेरोजगार युवाले सडकमा टायर बाल्ने चलन पनि प्रथाकै रूपमा विकसित भएको छ । कांग्रेस, एमाले वा माओवादी जुनसुकै सरकारका पालामा पनि यस्तै हुने गरेको छ । यसको समाधान कसरी होला ? समाधान खोज्नेतिर कोही पनि गएको देखिन्न ।
दसै“ आउन लागेको छ, अरूलाई जे–जस्तो भए पनि आयल निगममा काम गर्ने कर्मचारीको दसै“ सधै“ राम्रो हुने गर्छ । संस्था घाटामा गए पनि दसै“मा नगद, कपडा र खाद्यान्नसमेत कार्यालयबाट लिन्छन्, आयल निगमका कर्मचारी । घाटामा गएको संस्थामा यसरी ब्रह्मलुट हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण र नियमन गर्ने प्रयत्न कहिल्यै गरेको पाइन्न । अनावश्यक कर्मचारीको बोझ घटाउने, खर्च कटौती गर्नेतर्फ निगमको ध्यान गएको छैन । न त गुन्यु–चोलो तथा दौरा–सुरुवालसमेत निगमबाट किनेर दसै“ मनाउने प्रचलनको नै अन्त्य भएको छ । मुग्लिनको होटलको भातको गुणस्तर नाप्ने प्रधानमन्त्रीले आफै“ आयल निगमको लेखा हेरून् र गरिब देशका धनी कर्मचारीले पाउँदै आएको दसै“ भत्ता तुरुन्त बन्द गरून् । दसै“मा निगमका कर्मचारीले लिने त्यस्तो नगद र जिन्सी भत्ता मात्रै रोक्ने हो भने निगम त्यति धेरै घाटामा जाँदैन ।
चाडको मुखमा तेलको भाउ बढाएर निगमका कर्मचारीले दसै“का नाममा हर्षाेल्लास गर्नु समान्य दृष्टिले पनि अमिल्दो छ । सिंगै मुलुक मह“गीको मारमा पिल्सिएका बेला आयल निगमका कर्मचारीलाई मात्रै दसै“ लाग्ने हो भने लोकतन्त्र वा जनतन्त्रको के अर्थ ? त्यसैले दसै“मा निगमका कर्मचारीको खर्च जोहो गर्न यसरी मूल्यवृद्धि गरिएको होइन भने सरकारले जनतालाई प्रस्टसित सन्देश दिन सक्नुपर्छ कि निगमका कर्मचारीले दसै“मा के–के सुविधा लिन्छन् ?
के त्यो सुविधा मुलुकका अन्य कर्मचारीलाई पनि दिइन्छ ? अनि धर्मनिरपेक्ष भनिएको मुलुकमा दसै“का नाममा यसरी राष्ट्रको ढुकुटी बाँडीचुँडी गरेर रित्याउनु कत्तिको शोभनीय होला ? यसबारे सरकारले बेलैमा छानबिन गरोस् र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नै पर्ने औचित्य जनताले बुझ्ने भाषामा प्रस्ट पारोस् । अन्यथा मह“गीको मारमा परेका जनताले निराशा, कुण्ठा र आक्रोशको अभिव्यक्ति विद्रोहमार्फत व्यक्त गर्ने खतरा रहन्छ । अरबियन मुलुकमा यस्तै घटनाबाट राज्यविरुद्ध आन्दोलनको आगो सल्किएको घटनाबाट नेपालका शासकले पाठ सिक्न जरुरी छ ।