काठमाडौं । राजधानीका घरानिया महिलाहरुले ढुकुटी खेल्नु सामान्यजस्तै भैसकेको छ । यसैक्रममा साउन १३ गते ढुकुटी खेलेको अभियोगमा नारायणटारस्थित भीम बस्नेतको नवीन फुडल्याण्ड रेष्टुरेन्टबाट एक पुरुषसहित पक्राउ परेका १६ जना घरानिया महिलाहरु अहिलेसम्म छुटेका छैनन् । उनीहरुलाई छुटाउन आफन्तहरु प्रहरीसमक्ष भनसुन गर्न सक्ने नेताको खोजीमा लागेका छन् ।
आफ्ना श्रीमती पक्राउ परेपछि तिनलाई छुटाउन सोह्रैजनाका श्रीमान्हरुको दौडादौड परेको छ । ठूलो संख्यामा पैसावाल महिला पक्राउ परेपछि सामाजिक बेइज्जत हुने डरले केहीमा रुवावासी परेको छ । अर्कातर्फ तिनलाई छुटाउने बहानामा वकीलहरुले पनि राम्रै आम्दानी गरेका छन् । छुट्नका लागि उनीहरु जसलाई भए पनि पैसा खुवाउन तयार देखिन्छन् ।
ढुकुटी खेल्ने÷खेलाउने कार्यलाई सरकारले गैरकानूनी बताए पनि यसमा सेना, प्रहरीका हाकिमका श्रीमतीहरुको पनि संलग्नता देखिने गरेको छ । काठमाडौंमा ३÷४ तले घर भएका धनीमानीहरु यस्तो कार्यमा संलग्न छन् । जोरपाटीबाट पक्राउ परेका १६ महिला पनि यस्तै घरानिया हुन् । रेष्टुरेन्टका सञ्चालक बस्नेतले ढुकुटी खेलाएको सुराकीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छापा मारेर करिब २२ लाख रुपैयाँसहित १७ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई कारवाही गर्ने कानून नभएपछि प्रहरीले ठगीको अभियोगमा आइतबार म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
ढुकुटीकै कारण राजधानीमा अपराधका घटना बढेका छन् । हाल अपहरणमा परेकी भनेर काठमाडौं, जैसीदेवलकी छोरीमायाँ महर्जनका आफन्तहरु अनसनमा बस्ने र आन्दोलन गर्ने कार्यमा लागिरहेको भए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले छोरीमाया ३० लाखसम्मको ढुकुटी खेलाउने कार्यमा संलग्न रहेको र यही लेनदेनका कारण उनी बेपत्ता भएको हुनसक्ने देखाएको छ । ढुकुटीका कारण घरझगडा, आत्महत्या र अपहरणसम्मका हिंसाजन्य क्रियाकलाप राजधानीमा बढेका छन् । चारमहिना यता राजधानीमा तीन महिलाले आत्महत्या गरिसकेका छन् ।
हाल थुनामा पर्नेहरुले दिएको विवरणअनुसार बिन्दु आचार्य, नीमा लामा, विष्णु ठकुरी, गीता गौतम लगायतका महिलाहरु ढुकुटीबाट लाखौं रुपैयाँ उठाएर फरार भएका छन् । भवानी तामाङ नाम गरेकी महिलाले कालीमाटी प्रहरी कार्यालयभित्रै चिठी लेखेर आत्महत्या गरिन् ।
सरकारले ढुकुटी खेल्ने÷खेलाउने कार्यलाई नियन्त्रण गर्न सकेको छैन । समूहबाट पैसा उठाएर भाग्ने क्रम बढेपछि पैसा उठाउने र मान्छे खोज्ने नाममा गुन्डा परिचालन शुरु भएकाले लेनदेनसम्बन्धी यो मुद्दाले फौजदारी रुप लिन थालेको छ । पक्राउ पर्नेहरुलाई पनि कारवाही गर्ने प्रष्ट कानून नभएकाले थुन्ने कि छाड्ने भन्नेमा प्रहरी द्विविधामा छ । बौद्धको हायात होटल पछाडि घर भएका आफूलाई वकिल बताउने शरदचन्द्र गौतमकी पत्नी गीता गौतमले लाखौं रुपैयाँ खाएको भन्दै ५०÷६० जनाले उनको घर घेरा हाले । श्रीमतीलाई नभेटेपछि श्रीमान्लाई प्रहरीले पक्राउ पनि ग¥यो तर, उनी तत्कालै छुटे । हाल उनले आफ्नी श्रीमतीसित छोडपत्र भैसकेको कागज बनाएका छन्, श्रीमती भूमिगत छिन् । यसरी ढुकुटीका नाममा पैसा खाएर भूमिगत हुने महिलाहरु राजधानीमा बढिरहेका छन् । प्रहरीले कहिले खोजेर भ्याउला ? शंकै छ ।