काठमाडौं । सरकारले निर्णय गर्छ, मन्त्रीलाई जानकारी हुँदैन । यस्तै भएको छ, हालको बाबुराम क्याबिनेटमा । मानौं कि, रक्षा मन्त्रालयको मातहत रहने नेपाली सेनालाई महिला तथा बालबालिका मन्त्रालयको मातहत राखियो † तब के हुन्छ ?
गाईजात्रा चलिरहेको यो मौसममा हँसिमजाक गर्नलाई त यस्ता विषय काफी होलान् । तर, यो गाईजात्रा नभएर बाबुराम सरकारले गरेको एउटा त्यस्तै हाँस्यास्पद निर्णयको प्रसंग हो । २०१६ सालको सहकारी ऐनअनुसार स्थापना भएको र ०४८ मा नयाँ सहकारी ऐन बनेपछि पनि त्यहीअनुसार काम÷कारवाही गर्दै आएको साझा प्रकाशनलाई बिनाखबर र बिनासोधपुछ बाबुराम सरकारले शिक्षा मन्त्रालयमातहत राख्ने निर्णय ग¥यो । र, निर्णय भएको दुई महिनापछि शिक्षाका सहसचिव रामकृष्ण सुवेदीले साझालाई थर्काए, ‘क्या हो तपाईंहरु † शिक्षामा गाभिएको यत्तिका समय भइसक्यो, कुनै रेस्पोन्स छैन †’ साझाका एक अधिकारीले यस्तो हप्काई नबुझेपछि सोधे र बल्ल उनले भने, ‘जेठ २ गतेको निर्णय जेठ ५ गते राजपत्रमा छापिएको छ । आज साउनको ९–१० गते भइसक्यो । के हेर्नुहुन्छ तपाईंहरु ?’ अनि, बल्ल सवा दुई महिनापछि उनीहरुले चाल पाए, साझा प्रकाशन उहिल्यै शिक्षामा गाभिएछ । यस्तो कुरा सुनेपछि साझाका अधिकारी झन् अचम्ममा परेका छन् कि, जेठ २ गते क्यबिनेटले अर्को मन्त्रालयमा गाभ्ने निर्णय गर्छ, ५ गते राजपत्रमा प्रकाशित हुन्छ र १२ गते आफ्नै मन्त्रालयमातहतको निकाय भन्दै सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकाल, सचिव केशव भट्टराई, सल्लाहकार सन्तोष पौडेल र सहसचिव केदार न्यौपानेको हुल निरीक्षणका लागि त्यहाँ पुग्छ ।
र, त्यो टोली ‘यस ऐतिहासिक संस्थाको विकास र प्रबद्र्धनमा सरकारले लिँदै आएका चासो र प्रबद्र्धनात्मक कामहरुलाई अझ गति दिँदै भविष्यमा यस संस्थालाई एक उत्कृष्ट संस्थाको रुपमा स्थापना गर्न प्रयत्नशील रहने’ लेखिएको लिखतमा सही धस्काएर फर्किन्छ । अर्कातर्फ, यही सरकारले शिक्षा, स्वास्थ्य, उद्योग, यातायात, कृषि, बित्तीयलगायत विविध प्रकृतिका २४ हजार बढी सहकारी सञ्चालनमा रहेको र तिनलाई सबै मन्त्रालयसँग समन्वय गर्न भनी सहकारी तथा गरिवी निवारण मन्त्रालय स्थापना गरेको छ । गत साउन १० गते शिक्षा मन्त्रालयले मातहत कार्यालयका रुपमा साझालाई ‘छलफल कार्यक्रम सम्बन्धमा’ भनी एक पत्र फ्याक्स ग¥यो । भोलिपल्टको उक्त कार्यक्रममा मात्र हैन, अस्ति सोमबारसम्म शिक्षाले साझालाई गर्दै आएका सबै ताकेता उसले बेवास्ता गर्दै आएको छ ।
बरु, ११ गते शिक्षालाई साझाले चिठी लेखेर ‘के, कसो भएको ?’ भन्दै साझा प्रकाशनको सर्वाधिकार प्राप्त सञ्चालक समितिलाई पनि जानकारी नरहेको अवगत गरायो । सहकारी विकास बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने र साझा प्रकाशनमा राष्ट्रिय सहकारी विकास बोर्डको अध्यक्षको हैसियतले मात्र भूमिका रहने भन्दै साझाले प्रश्न सोधेको छ, ‘साझा र शिक्षाबीच कसरी समन्वय गरिएको हो ? यी कुरासँग सम्बन्धित वैधानिक प्रावधान के हो ?’ अर्कातर्फ शिक्षा मन्त्रालयले सहकारी चलाउन मिल्ने÷नमिल्ने र साझाका करिव दुई हजार शेयर सदस्यको हैसियत के हुने भन्ने प्रश्न पनि अनिर्णित रहेको एक अधिकारी बताउँछन् । यही विषयलाई लिएर साउन १४ गते राष्ट्रिय सहकारी संघले प्रधानमन्त्रीलाई निर्णय सच्याउन अनुरोध गर्दै चिठी लेखेको छ ।