काठमाडौं । कर्जा सूचना केन्द्रले साउन १२ गते बैंकको कर्जा भुक्तान नगर्ने व्यापारीहरूको कालोसूचि प्रकाशित गरेपछि धेरै व्यापारीको निद्रा गुम्यो । ऋण खाएर नतिर्ने वा जमानी बसेर दायित्व निर्वाह नगर्नेलाई त ठीकै छ, खाएको विष लाग्यो तर अनाहकमा परेकाहरूले भने न्यायालयको ढोका ढक्ढक्याएका छन् । यसरी सर्वोच्च अदालतको शरणमा पुग्ने व्यापारी हुन्– क्युब इन्टरकन्टिनेन्टल प्रालिका सञ्चालक नुरप्रताप राणा र अमिरप्रताप राणा ।
एक प्रतिष्ठित बैंकका संस्थापक अध्यक्ष र हाल सञ्चालकको रूपमा रहेका राणाहरूको रिटमा सर्वोच्चले अस्ति आइतबार अन्तरिम आदेश दिँदै २५ लाखमा कालोसूची लगाउने राजनसिंह भण्डारी प्रमुख कार्यकारी रहेको विपक्षी सिटिजन बैंकसमेतलाई निजहरूलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न भनेको छ । आदेशले नै बोलेको छ, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ को उपदफा १० र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ अनुसार पनि प्रत्यक्ष ऋणी वा ऋणीको लागि जमानत बस्नेलाई कालोसूचीमा राख्ने व्यवस्था भएको ।’
आदेश अगाडि बोल्छ, ‘निवेदकहरूको कम्पनी र विपक्षी बैंकबीच भएको भनिएको.... को सम्झौताअनुसार सर्तपालन नगरेका कारण यी निवेदकहरूलाई कालोसूचीमा राख्न मिल्ने हो, होइन भन्ने कुरा यस रिट निवेदकको अन्तिम निर्णयबाट बोलिने कुरा हो ।’ आदेशमा अन्तिम निर्णयबाट बोल्ने भने पनि कानुनले कालो सूचीमा राख्ने व्यवस्था गरेको दायराभित्र राणाहरू पर्दैनन् । यसरी पछि अन्तिम निर्णयमा बोल्ने कुरा अन्तरिम आदेशमा नै बोलिसकिएको छ । किनभने यी दुवै ऋणी वा जमानती होइनन् ।