काठमाडौं । राष्ट्रपतिनिवास सर्नुअघि प्रणव मुखर्जीले पहिलो विदेशी पाहुनाका रूपमा स्वागत गर्दै नेपालका दुई नेतालाई अब आफू हिजोको जस्तो सक्रिय भूमिकामा नभएको हुँदा आफ्नो सीमा बुझिदिन आग्रह गरेका छन् । अघिल्लो बुधबार राष्ट्रपति पदको शपथ खाएका प्रणवले भनेका छन्, ‘हिजो पार्टी र सरकारका तर्फबाट जसरी म तपाईंहरूसँग सहकार्य गर्न सक्थे“ आजको स्थिति फरक छ तैपनि म नेपाललाई नजिकबाट हेरिरहन्छु ।’ उनले अगाडि भने, ‘तपाईंहरू अहिले अप्ठ्यारो स्थितिमा हुनुहुन्छ । म नेपालको वर्तमान राजनीतिक समस्याले लोकतान्त्रिक फ्रेमवर्क (दायरा)भित्रै छिटो निकास पाओस् भन्ने चाहन्छु ।’ लालकटौरा रोडस्थित अस्थायी निवासमा अघिल्लो मंगलबार अर्थात् २४ तारिखको साँझ एमाले उपाध्यक्ष विद्या भण्डारी र वरिष्ठ नेता केपी शर्मा ओलीसँग मुखर्जीले २२ मिनेटसम्म कुराकानी गरेका थिए । यसअघि सत्तारूढ कांग्रेस आई र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टीसँगको कुराकानीमा ओलीले भनेका थिए, ‘मधेस मात्र नेपाल होइन, त्यसभन्दा माथि पहाड र हिमालमा पनि नेपाल छ भन्ने तपाईंहरूले बुझिदिनुप¥यो ।’ उनले अझ स्पष्ट रूपमा कुरा राखे, ‘नेपालको कमजोर राजनीतिक स्थिति, मह“गा र दुर्लभ प्राकृतिक स्रोत दोहनका नाममा मधेसको संवेदनशीलता भजाएर पश्चिमाहरू जाति–जनजातिलाई भड्काउँदै छन् । मधेस देखाएर चीनलाई तर्साउने, जाति–जनजाति देखाएर दक्षिणलाई उत्तेजित पार्ने अनि दिल्ली र बेइजिङलाई सानो छिमेकी देश नेपाल मामिलामा अल्झाउने खेल भइरहेको छ । यसलाई तपार्इंंहरूले नजरअन्दाज गरिदिनुभएन ।’
भेटघाटमा सबैखालका भारतीय नेतासँग ओलीको एउटै आग्रह थियो, ‘तपाईंहरू यतिन्जेल कर्मचारीतन्त्रमाथि धेरै भर पर्नुभयो, अब नेपाल मामिलाबारे राजनीतिक तहमा समेत चिन्तन हुनुप¥यो ।’ ओली कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेटघाटको निम्ति आफ्नो भारत बसाइ लम्ब्याएर चेन्नई पुगेका छन् । उता, अबको ठीक ११ दिनपछि उत्तरबाट त्यहाँका उपविदेशमन्त्री नेपाल आउने भएका छन् ।