इलाम । मानव विकास सूचकांकको हिसाबले निकै अगाडि देखिने पूर्वको इलाम स्वास्थ्य–सुविधाको हिसाबले भने कर्णालीसरह बनेको छ । इलामस्थित एक मात्र सरकारी अस्पतालमा तीनजनाको दरबन्दी त छ तर डाक्टर भने एकजना पनि छैनन् । यहा“ मात्र होइन, जिल्लाका अन्य तीन स्वास्थ्य केन्द्रमा रहेको तीन डाक्टरको दरबन्दीमा पनि डाक्टर छैनन् । यसैले इलामका स्वास्थ्य संस्था परिवार नियोजनको अस्थायी साधन वितरण गर्ने निकायका रूपमा सीमित भएको सर्वसाधारणले बताउन थालेका छन् । यता, जिल्ला अस्पताल भने तराईका जिल्लाका निजी अस्पतालमा रिफर गर्ने ‘रिफर सेन्टर’का रूपमा परिवर्तन भएका छन् । सामान्य उपचारसमेत पाउन नसकेपछि सर्वसाधारणले भारतका सिलीगुडी, दार्जिलिङ र तराईका अस्पतालमा मह“गो मूल्य चुकाएर उपचारार्थ जानुपरेको छ ।
यहा“का डाक्टर तारा पोखरेल काठमाडौंको कान्ति बाल अस्पतालमा असोज ६ गते बढुवासहित सरुवा भएर गएपछि अस्पताल डाक्टरविहीन भएको हो । अहिले इन्टर्नसिपमा आएका डाक्टरहरूको भरमा अस्पताल सञ्चालन भएको छ । डा. पोखरेल सरुवा भएपछि वीर अस्पतालबाट भरत थापालाई विभागले इलाम सरुवा गरेको छ । तर, पत्र आएको तीन महिना बित्दासमेत उनी अस्पतालमा हाजिर नभएपछि उनको चिठीमै इलामेले चित्त बुझाउनुपरेको छ ।
क्षमता वृद्धि गरेर ५० शøयाको बनाउने तयारी भइरहेकाले चार करोड बराबरको भवनसमेत निर्माण भइसकेको छ । हाल १५ शøया क्षमताको अस्पताल डाक्टर अभावका कारण निस्प्रभावी बनिरहेका बेला यही अवस्था रहने हो भने यी भवन भूतबंगला बन्ने निश्चित छ । यता, प्याङ, मंगलबारे र फिक्कलका स्वास्थ्य केन्द्रमा पनि वर्षौंदेखि डाक्टर उपलब्ध छैनन् । ‘हामीले धेरै आवाज उठायौ“ तर सम्बन्धित निकायले वास्तै गरेन,’ प्याङका लोकेन थेबेले गुनासो गरे, ‘अन्यत्र लैजान पनि तत्काल सम्भव छैन, यातायात अभावले अकालमै ज्यान गइरहेको छ, दुर्गम क्षेत्रका मानिसको ।’ स्वास्थ्य सेवा ठप्प भएपछि उनीलगायत इलामे नागरिकले यतिखेर राष्ट्रियस्तरमा प्रभाव राख्ने इलामे नेताहरूले स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत कानमा तेल हालेर बसिदिएकामा आक्रोश पोख्ने गरेका छन् । केबी गुरुङदेखि सुवास नेम्वाङ हु“दै झलनाथ खानालसम्मका पहु“चवाला नेताहरूले पनि जिल्लाको समस्या नबुझिदिएकामा इलामेहरूको ठूलो चित्त दुःखाइ छ । ‘जनताको यस्तो संवेदनशील समस्याले नेताहरूलाई नछु“दा हामी स्वास्थ्यको दृष्टिले कर्णालीवासी भएका छौ“,’ एक सेवाग्राहीले गुनासो पोखे ।
विनाडाक्टर अस्पताल व्यवस्थापन पक्ष पनि चौपट छ । यहा“ सञ्चालित सामुदायिक औषधि कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई सस्तोमा औषधि उपलब्ध गराउने कार्यक्रमको लेखाजोखा नै छैन । कति औषधि खरिद गरियो, कहा“बाट भन्ने स्पष्ट लेखा राखिएको छैन । कम्तीमा पनि २० प्रतिशतसम्म सस्तो औषधि उपलब्ध गराउने उद्देश्यले सरकार र बिएनएमटीको लगानीमा यो कार्यक्रम सञ्चालित छ । अहिले औषधि सकिएको छ । यसरी नै निःशुल्क औषधि कार्यक्रम पनि प्रभावकारी छ्रैन । ४२ प्रकारका औषधि निःशुल्क दिने भनिए पनि कति औषधि छन् भन्ने कसैलाई थाहा छैन । अस्पतालमा आउने सेवाग्राहीले पनि निःशुल्क औषधि नपाएको गुनासो गरेका छन् । योभन्दा अगाडि निःशुल्क औषधि र सस्तोमा बिक्री गर्ने औषधि एकै ठाउ“मा राख्ने गरिएको थियो । अस्पताल विकास समितिले भर्खरै निःशुल्क र सामुदायिक औषधि कार्यक्रमलाई छुट्याएको छ ।
अस्पताल विकास समितिको भर्खरै बसेको बैठकले यी दुवै कार्यक्रमको जानकारी माग्दा कर्मचारीले अनभिज्ञता प्रकट गरेका थिए । यसअघि डा. तारा पोखरेल र अहेव बालकृष्ण गौतमले हेर्दै आएकाले आफूहरूलाई जानकारी नभएको कर्मचारीले समितिलाई जवाफ दिए ।
यता, विभागले तीन वर्षअघि अस्पतालमा पठाएको अल्ट्रासाउन्ड मेसिन कहा“ छ अहिलेसम्म पत्तो छैन । अस्पताल विकास समितिले जिल्लामा अल्ट्रासाउन्डको सेवा दिने भनेर विभागस“ग माग गर्दा विभागले इलाम अस्पताललाई तीन वर्षअघि नै यो मेसिन प्रदान गरिएको जनाएको छ । विभागले तीन वर्षअघि दिएको यो मेसिन कता हरायो ? भन्ने चर्चा चलिरहेको छ । यता, डा. तारा पोखरेलले भने अस्पतालस“गै जोडिएको एक घरमा निजी रूपमा अल्ट्रासाउन्डको सेवा दि“दै आएका थिए । तर, उनले यो व्यक्तिगत भएको बताउ“दै आएका छन् । र, यसको आम्दानी पनि उनी आफै“ले लि“दै आएका थिए ।
यता अस्पताल विकास समितिले पनि विभागले अस्पताललाई दिएको मेसिन कसले, कहा“ लग्यो ? भन्ने प्रस्टस“ग बताउन सकेको छैन । ‘अस्पताललाई व्यवस्थित गर्ने क्रममा विभागमा म आफै“ मेसिन माग्न जा“दा तीन वर्षअघि नै अस्पताललाई मेसिन आएको थाहा भयो । तर, कहा“ छ भन्नेचाहि“ अहिलेसम्म पत्तो छैन,’ अस्पताल विकास समितिका अध्यक्ष नरेन्द्र भट्टराईले भने । यसरी नै एक्स–रे मेसिन पनि एक सय एमएम क्षमताको विभागले दिएको भनिरहेको छ । तर, यहा“ भने ६० एमएमको मात्र छ । जसले छातीको एक्स–रे दुईपटक गर्नुपर्छ । विभागले दिएको भनेको एक्स–रे मेसिनले एकैपटक गर्दा हुन्छ । यी मेसिनको मूल्यमा समेत फरक पर्ने जानकार बताउ“छन् ।
– सटेन्द्र जबेगु