लेख/रचना
 
किन बजाउनु बेकारमा यस्तो राग ?
– सोभियत ढकाल
 
एमाओवादीको विस्तारित बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनताको मुद्दा राम्रैसँग उठाए । बैठकको समापनमा प्रचण्डले भारतलाई नरम होइन, गरम ढंगले हेर्ने उद्घोष पनि गरे । कम्युनिस्टहरुले राष्ट्रिय स्वाधिनताको गीत राम्रैसँग गाउने गर्छन् । स्वाधिनताको प्रश्न उठाएर थुप्रैपटक पार्टी विभाजन भएको उदाहरण कम्युनिस्ट आन्दोलनको इतिहासमा प्रशस्तै भेटिन्छन् ।

नेपाली राजनीतिक वृत्तमा सधैं राष्ट्रिय स्वाधिनताको मुद्दा चर्चाको विषय बन्ने गर्छ तर सत्तामा पुग्नासाथ ती ओझेलमा परिहाल्छन् । अझ प्रतिपक्षमा बस्दा चर्को राष्ट्रवादी तर सत्तामा पुग्नासाथ सत्ता टिकाउन छिमेकी मुलुकसँग बढी नै आश्रित हुने महारोगका कारण कम्युनिस्ट आन्दोलनभित्र राष्ट्रिय स्वाधिनताको मुद्दा हात्तीको देखाउने दाँत मात्र हुने गरेको छ । चाहे बिप्पा सम्झौता होस् या त्रिभुवन विमानस्थल स्तरोन्नतिको जिम्मा, निर्माण स्वामित्व र सञ्चालन दक्षिणको कम्पनीलाई दिने आन्तरिक सहमति गरेर, नेपाली जनताको सर्वोच्चता र सार्वभौमसत्ताविरुद्ध गम्भीर अपराध गरेको भनी पुनः एकपटक आफ्नै कार्यकर्ताबाट डा. भट्टराईले भारतीय एजेन्टको मानपद्वी पाएका छन् ।

हुन त छिमेकी मुलुकको विश्वासपात्र बनेर उनीहरुकै सहयोगमा प्रधानमन्त्री बनेका डा. बाबुरामले उनीहरुकै विरुद्धमा बोल्नु अनैतिकता मात्र होइन, लाजको विषय पनि बन्ला तर राष्ट्रिय अखण्डता र स्वाभिमानलाई बन्धकी बनाउन कदापि पाइन्न । एमाओवादीको विस्तारित बैठकमा राम्रैसँग राष्ट्रिय स्वाधिनताको मुद्दा उठ्यो, कार्यकर्ताले उफ्रीउफ्री भारतसँग नरम होइन गरम नीति अपनाउनुप¥यो भनी माग पनि गरे तर त्यो उफ्राइ व्यर्थ थियो किनभने हिजो युद्ध, आन्दोलन र विद्रोहलाई सफल बनाइदिन निवेदन हालेर भारतमै बसी जनयुद्ध चलाएका, दिल्लीकै रोहवरमा १२ बुँदे सहमति गरेका, सत्तामा जान र नेतृत्व लिन दिल्लीको विश्वासपात्र बन्न होडबाजी गरेका नेताहरुले स्वाभिमानको लडाइँलाई नेतृत्व गर्लान् भनी आस गर्नु नै बेकार छ । समाधान र सहमतिको प्रक्रियालाई अर्काको इच्छा र प्रयत्नमाथि निर्भर गराएर स्वाधीनताको प्रश्न उठाउनु कार्यकर्ताहरुलाई गुमराहमा पार्ने प्रपञ्च मात्रै हो । नक्कली राष्ट्रवाद कलाविहीन नाटक हो भन्ने कुरा अब कार्यकर्ताहरुले बुझ्न जरुरी छ ।

नेपालीसँग कालापानीमा पानी नखाई आफ्नो स्वाभिमानको निम्ति लडेको गौरवपूर्ण इतिहास छ । बेलायती साम्राज्यलाई नेपाली धर्तीबाट खेदाएको विरासत छ । यति धनी इतिहास बोकेका हामी पुर्खाले थेगिदिएको राष्ट्रवादमा गर्व गर्दै वर्तमानको राष्ट्रवादलाई जानीजानी बलात्कार गरिरहेका छौं । मजाकको विषय बनाइरहेका छौं । हाम्रो राष्ट्रवाद जहाँ चाहिँदैन, त्यहाँ उर्लंदो खहरेजस्तो गड्गडाउँछ तर जहाँ चाहिन्छ, त्यहाँ मौन रहन्छ । भारतीय दूतावासका सहसचिवस्तरका कर्मचारीले कार्यालयमै आउन निर्देशन दिँदा आफूलाई क्रान्तिकारी कम्युनिस्ट सम्झने नेताहरु हतार हतार अगाडि–पछाडि सुरक्षागार्ड राखेर गाडीको साइरन बजाउँदै लुत्रुक्क परी दण्डवत गर्न पुग्छन् । पार्टीका वरिष्ठ नेताहरु उनकै प्रमुख आतिथ्यतामा बैठक बस्न राजी हुन्छन् । तिनीहरुले अब राष्ट्रिय स्वाभिमानको गीत गाइदिएर जनताले विश्वास गरिदेलान्, कार्यकर्ताले आँखा चिम्लिएर ताली बजाइदेलान् भन्ने सपना नदेखे हुन्छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाधिनताप्रतिको निष्ठा र इमान्दारिता भनेको एउटा देशभक्त नेपालीको पहिचान हो । कुनै पनि नेपालीले आफ्नो स्वाभीमान कसैको अधिनमा परोस् भन्ने चाहँदैन । साँच्चै वास्तविक नागरिक भएर यथार्थ बुझ्ने हो भने राष्ट्रियता खतरामा छ । सुनिन्छ, कहिले इलाममा, कहिले रौतहटमा, कहिले दाङमा भारतले नेपाली जमिन अतिक्रमण गरी बाँध बनायो । भारतीय सुरक्षाबल प्रवेश गरी कुटपिट ग¥यो । सीमास्तम्भ गायब बनाई नेपाली भूभाग अतिक्रमण ग¥यो । हामी सबैलाई थाहा छ, कालापानीमा अतिक्रमण गरी भारतीय सेना बसेका छन् । खै सो ठाउँबाट भारतीय सेना हटाउन आवाज उठाएको ? राजनीतिक स्वार्थ र सत्ता स्वार्थका कारण निरीह भई मौनता साँध्नेले के राष्ट्रिय स्वाभिमानको गीत गाउनु ? साँच्चै राष्ट्रिय स्वाधिनतालाई माया गर्नेले राष्ट्र दुख्दा आफ्नो मन दुखेको अनुभूत गर्नुपर्छ ।

भावनादेखिकै लड्ने ऊर्जा पलाउन सक्नुपर्छ । त्यो भावना नबुझ्नेहरु राष्ट्रलाई प्रेम गर्न सक्दै सक्दैनन् । राष्ट्रका सीमास्तम्भहरु दिनदिनै गायब भएका समाचार सुनिँदा मौनता साँच्नेले जतिसुकै फोस्रा आडम्बरका कुरा गरे पनि अर्थ रहँदैन । यदि साँच्चै यस्तै तरिकाले भारतको मात्र हित हुनेगरी द्विपक्षीय सम्झौता गर्ने, नेपाली स्वाभिमान समाप्त हुनेगरी भारतीय कम्पनीहरुलाई नेपालका महत्वपूर्ण निकायहरु जिम्मा दिइरहने हो भने भारतसँग राष्ट्रियताको हिमायती बनेर स्वाधिनताको लडाइँ लड्ने संकल्प गरेका कम्युनिस्टका नेताहरुलाई नांगेझार पारेर भारतले नचाइरहनेछ । कार्यकर्ताहरु दिल्लीले निर्वस्त्र तुल्याइदिएको राष्ट्रवादको रित्तो ढ्वाङ पिटिरहनेछन्, त्यतिबेला राष्ट्रिय स्वाधिनताको गीत गाउनुको कुनै तुक रहँदैन । आजैदेखि कार्यकर्ता सजग हुँदा राम्रो होला ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान