काठमाडौं । कमिशन र घोटालाका लागि प्रयोग हुँदै आएको प्रहरी कल्याणकोषको अर्बौं रकम आफ्नै संस्थाको सुधारका लागि प्रयोग नहुँदा पुलिस क्लबका सञ्चालक हैरान भएका छन् । करारनामाअनुसार दुबै पक्षले बराबरी मेन्टिनेन्ट गर्नुपर्नेमा हेडक्वार्टरले बेवास्ता गर्दा ठेक्कामा चलाउने सञ्चालक समस्यामा परेका हुन् ।
कल्याण शाखाको बेवास्ताका कारण ६ महिनासम्म भृकुटीमण्डपस्थित हेल्थ क्लब बन्दप्रायः अवस्थामा रहेको प्रहरीस्रोतले जनाएको छ । क्लबको सुधार गर्नुको सट्टा प्रहरी अधिकृतहरु नै अन्यत्र महंगा क्लब जान थालेपछि झनै अस्तव्यस्त बनेको बताइन्छ । सञ्चालक राकेशविक्रम शाहीले बन्द रहेको समयको भाडा मिनाहा गर्न कल्याण शाखालाई अनुरोध गरेका थिए । त्यसअनुसार केही समयको भाडा मिनाहा गर्ने वरिष्ठ अधिकारीसँग क्लब व्यवस्थापनको सहमति पनि भएको थियो । तर, हालसम्म सहमति कार्यान्वयन भएको छैन ।