बम बोकी हिँडिन्थ्यो, अहिले त कुर्सी मात्रै फालियो
- टोपबहादुर रायमाझी, एमाओवादी नेता तथा शान्तिमन्त्री
उनले दोहोर्याएर, तेहेर्याएर भने कि, पारविारकि कलहबारे उतिधेरै नलेख्नू
। अहिलेको सरकारमा प्रधानमन्त्री बाबुराम भट्टराईसँग सबभन्दा नजिकका
मन्त्री हुन् उनी । सरकारमा मात्र हैन, पार्टी जीवनका हरेक उतारचढावमा
बाबुरामसँगै रहेका उनले अहिले शान्ति मन्त्रालयको कार्यभार पाएका छन् ।
पार्टी विभाजनपछिको पहिलो विस्तारति बैठकमा कुर्सी हानाहानको घटनाले
बजारमा निक्कै चर्चा पाएको छ । यससँगै माओवादीका बदनामीका दिन पनि आएका
छन् । - विश्वमणि सुवेदी
० तपाईंहरूको वैचारकि द्वन्द्व भौतिक संघर्षको चरणमा प्रवेश गरेको हो ?
- हामी द्वन्द्वकालमा गोली चलाउँथ्यौं । बम बोकेर हिँड्थ्यौं । त्यसबेला
निक्कै ठूला-ठूला निशाना ताकेर हिँड्ने हामी नै हौँ । अहिले त केही
कुर्सी मात्र फालिएका न हुन् ! यसमा किन यति धेरै चर्चा गरन्छ, मलाई
अचम्म लागिरहेको छ । अहिलेमात्र हैन, द्वन्द्वकालमा योभन्दा तीव्रतर
अन्तरर्विरोध थियो । तर, अहिलेजस्तो उति चर्चामा आएन । पार्टी भूमिगत
थियो, सबैतिर मिडिया पुग्न सक्दैनथे । अहिले खुला भएको बेला सबै कुरा
खुला भए र सामान्य कुराले पनि ठूलो रुप लिने गरेका छन् । कुर्सी हानेको
कुरा पनि शंकैशंकाले गर्दा बढी प्रचारमा आयो ।
० कस्तो शंका ?
- त्यहाँ एकाध कुर्सी फालिएकै हुन् । भोजपुरा राज्यका दुई प्रतिनिधि
बोल्ने क्रममा को पहिला भन्ने कुरा भयो । एउटाले भन्दा अर्कोले पहिला
बोल्ने कुरा आयो । एकजनालाई बसाल्ने र अर्कोलाई बोल्न दिने भनेर साथीहरू
मिलाउँदै हुनुहुन्थ्यो । यसरी मिलाउँदा मिलाउँदै एकाध कुर्सी फालिए ।
पाँच/सात हजारको विस्तारति बैठकमा यस्ता सानातिना घटना हुनु ठूलो कुरा
हैन । तिनै कार्यकर्ता लास्टमा नेताहरूको जयजयकार गाउँदै हलबाट निस्किए ।
तर, यो कुरा उति प्रचारमा आएन । त्यत्रो ठूलो 'ग्यादरङि' गर्दा अलिअलि
कन्ट्रोल बाहिर जानु स्वभाविक हो । फेर िदेशमा अनेकन प्रकारका उद्वेलन र
आक्रोश छन् ।
० लडाकुका नाममा आएका रकममा भएको घोटालाले त्यो स्थिति निम्त्यायो भनिएको
छ । कुरा त्यही हो ?
- हामीले जसरी वैज्ञानिक विधिबाट क्यान्टोन्मेन्टमा रहेका लडाकु
साथीहरूलाई व्यवस्थापन गर्नुपथ्र्यो, त्यहाँको लेखा प्रणालीलाई व्यवस्थित
गर्ने मामिलामा कमजोरी रहृयो । हिसाब राख्ने कुरा व्यवस्थित नभएको कारण
साथीहरूले कुरा उठाउनुभयो । अहिले हामी कमाण्डर कमरेडहरूसँग सम्बन्धित
क्यान्टोन्मेन्टका हिसाबहरू लिँदै छौं । केन्द्रीय कार्यालयमा उहाँहरूले
धमाधम पेश पनि गर्दै हुनुहुन्छ । त्यो हिसाब हेरेर पार्टीले स्पष्ट
जानकारी गराउँछ ।
० अबको महाधिवेशनबाट प्रचण्डले पद त्याग्ने र बाबुरामलाई नेतृत्व दिने
सम्भावना कत्तिको छ ?
- महाधिवेशनमा गइसकेपछि विधिसम्मत तरकिाले जे गर्ने हो, त्यो निर्णय
हुन्छ । अहिले नै अध्यक्षले नेतृत्व छाड्ने वा सुम्पने कुनै कुरा भएको
छैन ।
० यसबीच प्रधानमन्त्री बनेबाटै बाबुरामले धोविघाट गठबन्धनलाई धोका
दिइसक्नुभएको छ । के बाबुरामलाई प्रधानमन्त्रीले नै पुग्ने रहेछ त ?
- पार्टीमा आवश्यकताअनुसार विचार समूहहरू जन्मिन्छन् । कुनै विषयमा कुनै
समूहसँग सहकार्य हुन सक्छ । तर, त्यो स्थायी हुँदैन । यदि स्थायी भयो भने
पार्टीभित्र अर्को पार्टी बनाउने हो । धोविघाटमा एउटाखाले सहकार्य भयो ।
त्यसले वैचारकि राजनीतिक रुपमै धेरै कुराको फैसला गर्ने भएकोले हामीले
छाड्यौं । त्यहाँ कार्यशैलीका कुरामा मात्र सहकार्य भएको हो । जसले
त्यसलाई वैचारकि राजनीतिक इस्यु बनाउनुभयो, ती साथीहरू फुटमा बदलिएर
जानुभयो । हामी त्यहाँबाट फुट्नुका प्राविधिक कारण पनि छन् । किरणजीहरूले
जुन प्रकारको विचारको कुरा गररिहनुभएको थियो, त्यसमा उहाँहरू नै
अडिनुभएको छैन । विद्रोह र क्रान्तिका कुरा गररिहनुभएको थियो । विभाजनपछि
ती सबै कुरा छाडेर पहिचान, संघीयता र राष्ट्रियताविरोधी पार्टीहरूसँग
सहकार्य गररिहनुभएको छ ।
० चुनवाङ प्लेनममा बाबुराम र बादल प्रचण्डमा 'बिलिन' भएजस्तो अहिले
प्रचण्डचाहिँ बाबुराममा 'बिलिन' हुनुभएको हो ?
- हाम्रो वैचारकि-राजनीतिक रुपको एकता हो । कुनै इस्युमा अन्तर भयो भने
संघर्ष हुन्छ । कहिलेकाँही सहकार्य हुन्छ । संघर्ष, एकता र रुपान्तरणकै
विधिमा सम्बन्ध आधारति छ । मिल्दैन भने फेर िसंघर्ष हुनसक्छ । कोही कसैमा
'बिलिन' भएको भनेर नबुझौं । हाम्रा 'हन्ड्रेड पर्सेन्ट' कुरा मिलेका छन्
भनेको भनेर नबुझिदिनुहोला । केही कुरा अधुरा छन्, नमिलेका छन् । ती
कुरामा संघर्ष गर्दै जान्छौं ।
० नेताहरूको विलासिताको कुरा कार्यकर्ताले बढी उठाउन थालेका छन् ।
- द्वन्द्वकालमा एउटै सेल्टरमा बस्थ्यौं । एउटै मेसमा खान्थ्यौं । सँगै
हिँड्थ्यौं । खतरा मोल्दा पनि सँगै मोल्थ्यौं । शान्तिप्रक्रियामा आएपछि
छुट्टाछुट्टै बस्न थाल्यौं । कोही गाउँमा बस्यौं, कोही सहर छिर्यौं ।
कोही सरकारमा गयौं, कोही बाहिरै रह्यौं । भूमिका र जिम्मेवारी अलग अलग
हुँदा स्वभाविक रुपमा असमानता देखापर्यो । हो, हामीले पार्टीका
साधनस्रोतलाई संस्थागत रुपमा पारदर्शी बनाउन सकेनौं । अरु पार्टीमा
'सक्नेले गर्ने हो' भन्ने छ, तर हाम्रोमा 'समानता र एकताका लागि' भन्ने
कुरा विद्यमान छ । यसकारण, भूमिका र जिम्मेवारीकै कारणले पनि असमानता
देखिनु स्वाभाविक हो ।
० दलहरूबीच सहमति निर्माणको बाधक कहाँ रहेछ ?
- पार्टी संख्या एक सय १० वटा नै भए पनि अहिलेको राजनीति दुई भागमा
बाँडिएको छ । एउटा हो, पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र
अर्को समूह हो, त्यसको विरोधी । संघीयताबिनाको संविधानको कुनै औचित्य छैन
। यही कुरामा लडाइँ पर्यो । एकथरलिे ०४७ सालकै संविधानमा करेक्सन गरेर
जाने कुरा ल्याएका छन् । संविधानसभाको चुनावमा जाने कि नजाने भन्ने अर्को
विषय छ । चुनावमा जाने हो भने सहमतिबाट मात्रै हुन्छ । कतिपय पार्टीले
एजेन्डाका विषयमा सहमति नगर्ने र सरकारका लागि मात्र सहमति गरौं भन्ने
गरेका छन् । हामी भन्छौं, बिना एजेन्डा र बिना सहमति यो सरकारले राजीनामा
दिनु भनेको अन्धकारमा देशलाई छाड्नु हो । देशलाई सडकमा लावारसि छाडेर
भाग्दैनौं । त्यसैले एजेन्डामा सहमति गरौं अनि सरकारलाई सर्वदलीय रुप
दिऔं । एजेन्डामा सहमति नगरी सरकारमा सहमति खोज्नु प्रतिगामी चिन्तन हो
।
० एजेन्डामा सहमति नहुने, सरकार पनि कामचलाउ नै रहने भयो भने कसरी चल्छ ?
- यसरी नै चल्छ, जसरी आज चलेको छ । अर्को बिकल्प केही छैन ।
० सहमति नभई चुनावमा जाने कि नजाने ?
- कसरी जाने ? सम्भव छैन । यो सरकारसँग त संविधानसभाको अर्को चुनाव गरौं
भन्ने एजेन्डा छ । सहमतीय सरकार बनाऔं भन्ने दलहरूसँग सरकार बनाउनेबाहेक
अर्को कुन एजेन्डा छ ? छैन, उनीहरूसँग केही पनि छैन ।
० प्रचण्डका छोराले अर्काकी बूढी भगाए भनेर पार्टी नै आलोचित छ, हैन ?
- हाम्रो पार्टी हाम्रै देशभित्रको पार्टी न हो !
यो समाजमा जे-जे भइरहेका छन्, त्यसको प्रतिबिम्ब पार्टीमा पनि हुने नै भयो ।
० अध्यक्षकै घरमा त्यस्तो छ भन्छन् नि !
- अरुको घरमा हुन हुने, अध्यक्षको घरमा हुन नहुने ? समाजको प्रतिबिम्बन
जुनसुकै घरमा पनि हुनसक्छ । त्यो समस्या अरु नेताको घरमा पनि आउनसक्छ ।
त्यसैले यो स्वभाविक कुरा हैन । त्यसलाई एउटा विधि-प्रक्रियाअनुसार हल
गर्नुपर्छ ।
० तपाईंले पनि एउटा कार्यक्रममा आफूलाई पत्नीपीडित संघ बनाउन साथीहरूले
भनेको कुरा गर्नुभयो नि !
- मैले के भनेको हो भने, समाजमा ९९ प्रतिशत घटना पुरुषका कारण महिला
पीडित हुने छन् र एक प्रतिशत घटना त्यस्ता छन्, जहाँ महिलाका कारण पुरुष
पीडित छन् ।
० तपाईं एक प्रतिशतमा हो ?
- त्यो मेरो कुनै 'इन्ट्रेस्ट' को विषय होइन । त्यसलाई आफसेआफ चर्चामा
ल्याइएको हो ।
० सीमाजीसँग कस्तो सम्बन्ध छ ?
- हामीबीचमा दाम्पत्य सम्बन्ध छैन । पार्टीगत सम्बन्ध कायमै छ ।
० विस्तारति बैठकमा भेट भयो ?
- आउनुभएको थियो भन्ने सुनेँ । भेट भएन ।
० छोराछोरी कता छन् ?
- छोराछोरी उहाँका पनि हुन्, मेरा पनि हुन् । जता पनि आउन-जान सक्छन् ।
० तपाईंहरूका मान्छे गलत मानिसको घेराबन्दीमा पर्दा त्यस्ता घटना हुने
गरेका हुन् कि ?
- समाज जस्तो छ, घटनाहरू त्यस्तै हुन्छन् । जस्तो भारतीय समाज नै भन्नुस्
न, धेरै उदार भइसक्यो । पहिला ऐश्वर्या राय सलमान खानकी प्रेमिका थिइन् ।
सलमान रक्सी पिएर अराजक हुन्छ रे ! ऐश्वर्याले भनिन् कि, 'त्यो बचपना
मान्छे हो ।' उनीहरूको प्रेम सम्बन्ध टुट्यो । र, ऐश्वर्याले अमिताभ
बच्चनका छोरा अभिषेकसँग विवाह गरनि् । अमिताभको परविारलाई ऐश्वर्या कुनै
दिन सलमानकी प्रेमिका थिइन् भन्ने पक्कै पनि थाहा थियो । थाहा हुँदाहुँदै
किन विवाह गरे ? भारतीय समाज उदार भएर हैन ? नत्र, अमिताभजस्तो एउटा
प्रतिष्ठित परविारमा ऐश्वर्याको विवाह हुँदैनथ्यो होला । जापानमै
हेर्नुस् त, हाम्रै नेपालीले जापानी युवतीसँग विवाह गरेका छन् । त्यहाँ
छुट्टीको दिन श्रीमतीले श्रीमान्सँग 'ब्वाई पेन्ड' भेट्न जान्छु भन्न
मिल्छ । हाम्रो भए आफ्नी श्रीमती 'ब्वाई पेन्ड' भेट्ने ? भन्दै मार्थे ।
त्यसैले समाजको विकासक्रममा धेरै कुरा निर्भर छन् ।
० अब अर्को विवाह गर्नुहुन्छ ?
- सोचेकै छैन । पछि केही सोचाई आउला कि नआउला, अहिलेसम्मलाई केही विचार गरेको छैन ।