अन्तर्वार्ता
 
अर्का कोठाबाट हिसिलाले समातेर ल्याइन्
केशव स्थापित, आयुक्त, काठमाडौं उपत्यका विè
 
राजधानी उपत्यकाको व्यवस्थित विकासकार्यलाई तीव्रता दिने बाबुराम सरकारको कार्यक्रमअनुसार एमालेका केशव स्थापित उपत्यका विकास प्राधिकरणमा नियुक्त भएको तीन महिना पुगिसक्यो । उनको नियुक्तिअघिबाटै काठमाडौंमा शुरु भएको सडक विस्तार कार्यक्रमअनुसार अहिलेसम्म पनि विभिन्न सडक किनाराका अतिक्रमित घर–टहरा भत्काउने काम भइरहेको छ । तर, केशव स्थापितको मनमा यतिबेला काठमाडौं सहर युरोप बनेको छ, मनको कुरा उतार्नमात्र बाँकी रहेको दाबी गर्छन् । उनलाई ‘गफाडी’ पनि भनिन्छ । र, आजसम्म दिएका सबै गफलाई चरितार्थ पार्ने मौका अहिले आएको बुझेका छन् ।

विश्वमणि सुवेदी

० तपाईं पदमा नहुँदै पनि ‘हाइप्रोफाइल’ को मान्छे । अहिले पदमा हुनुहुन्छ । तर, ‘लोप्रोफाइल’ मा । ‘लोप्रोफाइल’ मै बस्न चाहेको कि, यस्तो हुन पुगेको मात्र हो ? – मेरो भान्सामा के–के पाक्दैछ, त्यो तपाईंलाई थाहा हुँदैन । जब पाकेर खाने बेला हुन्छ, अनि तपाईंले मात्र पाउने हो । त्यो स्वादले मेरो प्रोफाइल ‘हाई’ हुन्छ कि ‘लो’ हुन्छ भन्ने कुरा निर्धारण गर्छ । धेरै कुरा पाक्दै छ । अहिले त त्यसको सुगन्ध मात्रै आइरहेको छ ।

० गफचाहिँ अलिक बढी नै दिनुहुन्छ नि † – कतिपयले मलाई नबुझेर गफाडी भनेका छन्, कतिपयले तल झार्न र मैले मार्न लागेको ‘छलाङ्ग’ लाई बिथोल्न त्यसो भन्छन् । अहिले प्राधिकरण जन्मिएको मात्रै छ । यसलाई संस्थागत गर्न अझै बाँकी छ ।

० कति समय लाग्ला ? – मसँग अहिले नगर विकास समितिकै कर्मचारीहरु छन् । कार्यालय भनेको एउटा झोलाले चलेको छ । केशरमहलको शिक्षा मन्त्रालय सिंहदरबार सार्न शुरु भयो । त्यो ठाउ“मा हाम्रो अफिस हुन्छ । अनि, म ‘फुल स्पिड’ मा दौडिन्छु ।

० ‘स्पिड’ लिएपछि तत्काल हुने कुरा के–के हुन् ? – यहाँ नेपाल मण्डल भनेर ठूलो–ठूलो कुरा गरिन्छ । पहिचान र अनेकथरीका नाममा धर्ना र जुलुस हुन्छन् । यो कुरा कसैले पनि सोचेको छैन कि, भूकम्पको एउटा झड्काले भित्री सहरमा थुप्रै जनधनको क्षति हुन्छ । यहीँको आदिवासी भएको नाताले मलाई यो भित्री सहर र सहरमा विकास भएको सभ्यता, संस्कृति, रहनसहनको धेरै चिन्ता छ । ती कुरालाई संरक्षण गदै सबै प्रकारको मानवीय सुविधा भएको, भूकम्पीय प्रतिरोधक टहराहरु निर्माण गर्ने योजना छ । जापानीज ‘डोम हाउस’ सँग यसबारे लामो कुरा भएको छ । त्यस्तो घर एक दिनमा तीन जनाले दुईवटा बनाउन सक्छ । मैले जापानीजलाई त्यो घरको ग्यारेन्टी कति वर्षलाई हो भनेर सोधेको, उनीहरूले हाँसेर ‘एक हजार वर्ष’ भने । क्यानेडियनसँग पनि यसबारे कुरा हुँदै छ । जस्तो कि, हिमाल सिमेन्टको कारखानालाई घर बनाउने ºयाक्ट्री बनाउने र भूतखेलको तीन हजार रोपनीमा त्यस्तो घर बनाउने ।

० त्यसलाई पनि पैसा चाहिएला नि † – मानौं, त्यहाँ २० हजार परिवार बस्छन् । घरको लगानीकर्ता भेटिन्छ । त्यहाँ २० वटा रक्सी पसल नै खोल्यो भने एकै दिनमा १० हजार हुन्छ, १० दिनमा एक लाख हुन्छ । त्यहाँ बस्ने बासिन्दाले चुत्थो हिसाबमा एक महिनाको दुई लाख नै जोगायो भने १२ महिनामा २४ लाख हुन्छ । त्यो पैसाले ऊ भूमिसहितको घर आफ्नो स्वामित्वमा ल्याउन समर्थवान हुन्छ । ऊ धनी भइसकेपछि अर्को गरिवलाई पनि त्यही उपायले राख्ने र धनी बनाउने । त्यहाँ कसैले ग्यास बेच्छ, कसैले तरकारी, कसैले मासु बेच्छ । सबैले कमाउने हो † २० हजारमा तीन हजारलाई प्रत्यक्ष रोजगारी मिल्छ । हामी त्यस्तो घर चार लाखवटा बनाउने सोचाइमा छौं । त्यसो भएपछि साहुहरुले घर भाडा खाएर बस्ने प्रवृत्ति पनि हराएर जान्छ । मान्छेको अल्छिपन सकिन्छ । काम गर्नुपर्छ भन्ने कुरा आफैं विकास भएर आउँछ । अहिले त, घरको भाडा आउँछ भन्यो, खुट्टा हल्लाएर बस्यो, पैसा आएपछि क्यासिनो गयो, रक्सी खायो । पैसाको सत्यानाश † मैले प्रधानमन्त्रीलाई जाहेर गरेको छु कि, सहरी विकास प्राधिकरण ऐन ल्याउने र यस्तो प्राधिकरण देशका विभिन्न ठाउँमा बनाउने । मलाई लाग्छ, राष्ट्रपति पनि यसमा कन्भिन्स हुनुहुन्छ ।

० राष्ट्रपति कन्भिन्स हुने आधार के हो ? – सहरी विकास प्राधिकरणले दमौलीदेखि कोत्रेसम्मको भूभाग लिने । त्यहाँ ३० करोड लिटर पानी भएको ड्याम बनाउने । दाहिने साइडको लाखौं रोपनी भूभागमा एकीकृत जग्गा विकास कार्यक्रम लागू गर्ने । त्यहाँबाट उब्जनी हुन्छ । त्यहाँका बासिन्दाको पुस्तौंपुस्ता यसैबाट बाँच्छ । कमाउन गएकाहरु फर्किएर आउँदा त्यहाँ घर हुन्छ, सम्पन्नता हुन्छ । त्यहाँका बासिन्दालाई माइक लगाएर भन्ने कि, हामी माथि पहाडमा केही गर्न सक्दैनौं । किनभने, पानी तलबाट माथि चढ्दैन । खाद्यान्न पु¥याउन सकिँदैन । औषधोपचार पुग्दैन । त्यसैले तपाईंहरु तलै झर्नुस् । माथि बस्दा जातपात र छुवाछुतका कथा तल झरेपछि सकिन्छ । किनभने, ऊ तल झरेपछि काम गरेर खान्छ । सार्कीले पकाएर बेच्न राखेको फोक्सो फ्राइड खान पण्डितजीहरु लाइन लाग्छन् । यसो भएपछि जातीय पहिचानको कुरा पनि सकियो । दलित, उत्पीडित र सीमान्तकृत भन्ने नै रहेन । किनभने, माथि पहाडमा हेपिएर बसेको मान्छे तल झरेपछि साहुजी बन्छ † त्यहाँ रक्तघुलनशीलता पनि हुन्छ । यो राष्ट्रपतिज्यूको कार्यक्रम हो । लुम्बिनीकै विकासको कुरा गर्नुस् न † विकास प्राधिकरणअन्तर्गत दाउन्नेदेखि पाल्पासम्मको भूभागलाई बृहद् सिद्धार्थ सहरी विकास कार्यक्रममा गाभेर वरिपरि रिङरोड बनाउने । गरिबले १०–१२ लाखमा त्यहाँका जमिन बेच्ने गरेका छन् । तर, एउटा कम्पनी खडा गरेर वर्षको १० बिघा जमिन बेच्ने, ‘बुद्धसँग म’ भन्ने नारा दिने । त्यो जग्गा त ग्लोबल टेन्डरमा जान्छ । अनि, त्यहाँका बासिन्दा अर्बपति, खर्बपति हुन कति बेर लाग्छ ? यस्तो प्राधिकरण ओलाङचुङगोलादेखि दार्चुलासम्म बनाए हुन्छ । यसले परनिर्भरता पनि हटाउँछ ।

० अनि, नागार्जुनमा के गर्ने भन्नुभएको थियो ? – नागार्जुन डाँडोको निक्कै ठूलो भागलाई व्यवस्थित रूपमा विश्रामस्थलजस्तो बनाउने कुरा प्रधानमन्त्रीलाई मैले जाहेर गरिसकेको छु । तर, त्यसो गर्दा जीवजन्तुको प्रजननमा समस्या आउने कुरा उठिरहेको छ । यहाँ मानिसहरुकै प्रजनन क्रियालाई व्यवस्थित गर्नेदेखि जीवजन्तुसम्मको प्रजननबारे चिन्ता लिनुपर्ने भएको हुँदा त्यसलाई व्यवस्थित गर्दै जानुपरेको छ । कलंकीदेखि थानकोटसम्म सडक विस्तार गर्नुहुँदैन भनेर एकातिर संघर्ष समिति बनेको छ । अर्कातिर त्यहीँका बासिन्दाले चार–पाँच लेनको के कुरा, १० लेनको बाटो बनाउने भए पनि हामी तयार छौं, लालपुर्जा बुझाउनुपर्ने भए ल्याउँछौं भनेका छन् ।

० तपाईंले सुरक्षाकर्मी राख्दिनँ भन्नुभएछ त ? – अस्ति घर भत्काउने ठाउँमा गएँ । आफ्नो घर भत्किएको मान्छेले छिमेकीको घर नभत्किएको देखेर ‘त्यो यथास्थितिवादी’ भन्दै थिए । जसको घर भत्कियो, उसको घर पछाडि जमीन छ । लाजिम्पाटमा भत्काउँदा मैले देख“े, बाहिर टहराले सार्वजनिक सडक ओगटेको छ । भित्रचाहिँ सुँगुरको खोरजस्तो ठाउँमा मान्छे बस्ने गरेका रहेछन् । एउटा टहरा भत्काउँदा भित्र तीन रोपनी जग्गा निस्किने घर भेटिए । त्यसबाट ६ करोड रुपैयाँ आयो । त्यहाँ ६ तलाको घर बनाउन सकिन्छ । मुन्तिर एउटा अन्डरग्राउन्ड र एउटा ओभरग्राउन्ड पार्किङ राख्यो । माथि चार तला भाडामा दियो । दुई तलामा आफू बस्ने † त्यहाँ हावा लाग्छ, घाम आउँछ, प्रदूषण छिर्दैन । प्रपर्टी भ्यालुएसन पनि अहिलेको भन्दा कयौं गुना बढी हुने भयो । आफूसँग पैसा छैन भने थर्ड पार्टी म जोडिदिन्छु । उसले ६ करोड लगाउँछ । त्यो जम्मा १२ करोडको गेम हो । त्यसबाट २४ करोड त आँखा चिम्लेर आउँछ–आउँछ । लगानी गर्नेले १२ करोड लिएर जान्छ । घर धनीले अर्को १२ करोडमा इन्जोय गरेर बसे भैगो । पानीपोखरीमा पहिला अमेरिकन एम्बेसी बसेको घरको जग्गा खालि गरेर ६ तलाको टावर उठाउन सकिन्छ । अहिले त्यहाँ ‘हरिबोल कन्डिसन’ छ, कतिबेला भुइँचालो आउला र किचिएर मरिएला भन्ने डर छ । लाजिम्पाटदेखि बाँसबारीसम्म पुग्दा त्यस्ता ३०–४० वटा घर निस्कन्छन् । त्यसपछि मान्छेहरु ठमेल, दरबारमार्ग जानै पर्दैन । सबैथोक त्यहीँ हुन्छ । यसप्रकार अब काठमाडौंमा के भन्ने दिन आउँछ भने, ‘केशव स्थापितले जहाँ भत्कायो, त्यो गोल्डेन टच †’ जनताले नै भन्छन् कि, ‘हामीकहाँ किन भत्काउन आएनौं ? हामीलाई किन अन्याय ग¥यौ ?’ मलाई त घर घरमा भात खान बोलाउँछन् । भात खान नभ्याएर बोलाउनेहरुलाई क्युमा राख्नुपर्छ । अनि, ६ महिनापछि फलानो गते, फलानो बारको यति बजे म तिमीकहाँ भात खान आउँछु भन्नुपर्छ । अनि, मलाई किन सरकारी गाडी चाहियो, किन टाइँ–टाइँ, टुइँ–टुइँ गर्ने सुरक्षा चाहियो ?

० गाडी सुविधा किन नलिनुभएको ? – म बुद्धमार्गी हुँ, यसकारण भएकै कुरामा सन्तुष्ट छु । आºनै गाडीमा अफिस जान्छु । महिनाको एक सय ८० लिटर तेल लिएको छु । तर, त्यसले पुग्दैन । मेरो ड्राइभरलाई बल्ल असार महिनादेखि अफिसले तलब दिन थाल्यो ।

० काठमाडौंको मेयर हुँदा ‘जनताले जिताएको मेयर’ भन्नुमा जति दम थियो, अहिले ‘बाबुराम–हिसिलाले दिएको नियुक्ति’ भन्दा दिक्क लाग्दैन ? – यो त यस्तो गजबको पदमा मलाई ल्याइदिए कि, महानगरपालिका हात्तीको मुखमा जिरा भनेजत्तिको मात्रै हो । जस्तो कि, खानेपानीबारे सबैको साझा मत छैन । तर प्राधिकरणले एक्लैले निर्णय गर्नसक्छ । जमीन व्यवस्थापनबारे के गर्ने ? यो पनि प्राधिकरणले गर्नसक्छ । मेयर भनेको मकैको गेडाजत्तिको, यो त के–हो, के–हो ? भनेर साध्ये छैन । म त अब उपत्यकाका बासिन्दालाई ‘मकै हैन, अंगुर रोप’ भन्छु । किनभने, एक रोपनी जग्गामा अंगुर खेती गर्दा एक सय २० वर्ष पुरानो एउटा रुखले चार टन अंगुर दिन्छ । पञ्चायतले हामीलाई वृक्षारोपण गर भन्यो । त्यहाँ जंगल त बन्यो । तर, त्यो फल नदिने वृक्षको भीड मात्रै † त्यहाँ ओखर, स्याऊ रोपिदिएको भए जनता धनी हुन्थे † त्यसकारण, अब सल्लो रोप, पानीको मुहान खुल्छ भन्ने हो । ‘पहिला भएका रुख काट, अनि काजु रोप, एउटा काजुको बोटमा ३० किलो काजु भयो भने एक बोटले १५ हजार आम्दानी गर्ने भयो’ भनेर जनतालाई सिकाउनुपर्छ । हिजो राजाले जनतामाथि जंगल जोगाऔं भनेर थोपरे, रुख बढेपछि आफैं तस्करीका लागि फँडानी गरे । जनतालाई पनि अब ‘राजतन्त्र ढलेपछि फल दिने रुख रोप्न पाइन्छ’ भनेर सन्देश त दिनुप¥यो नि † ढल, खानेपानी र टेलिफोन हालेरमात्रै विकास हुँदैन । जनतालाई धनी बनाउनुपर्छ ।

० अहिले भत्काइएका बाटोमा जनताले पिच भएको, बिजुलीको पोल हटाएको कहिले देख्न पाउँछन् ? – यो काम स्पेसल प्याकेजमा गर्ने भनेपछि त्यसको लागि स्पेसल बजेट आउनुप¥यो † हाम्रोमा ठेकेदारी प्रथा नै चुत्थो छ । सबैभन्दा कम पैसाको इस्टमेट दिनेलाई बाटोको ठेक्का दिने भनिन्छ । मेरो इन्जिनियरले एक करोडको मूल्यांकन गर्छ, टेन्डर खोल्दा ४० लाखमा काम गर्छु भन्नेलाई दिनुपर्छ । त्यो ठेकेदारले ४० लाखको टेन्डर बिड गरेपछि मोबिलाइजेसन फण्डबापत चार–पाँच लाख पाउँछ । उसले बैंकको अलिकति पैसा तिर्छ, त्यसपछि क्यासिनो जान्छ । पैसा हार्छ, अनि भाग्छ । यता, काम भएन भनेर हामीचाहिँ ठेकेदार कहाँ गयो ? भन्दै खोज्न हिँड्नुपर्छ । त्यसैले यो कामका लागि बेग्लै बजेट आउनुपर्छ । चुत्थो पैसामा काम गर्नेले न क्वालिटी दिनसक्छ, उल्टै देश ध्वस्तिकरणतर्फ जाने भयो ।

० सडक विस्तारका कारण केही मान्छेको भोट बैंक बिग्रने भयो । त्यसपछि केशव स्थापितलाई यसमा झोसेर उनीहरु ‘फेस सेभिङ’ मा लागे भनेर कतिपयले भनिरहेका छन् † – बाबुरामजी हाँस्नै नजान्ने मान्छे † हेर्दा यिनी क्रुर हुन् कि भन्ने मलाई लाग्थ्यो । एकदिन सुकुम्बासीको कुरा गर्न बालुवाटार गयौं, हिसिलालाई भेट्न । मैले भनेँ कि, ‘तपाईंहरुको यो दैत्य स्वभाव भयो । युद्ध शैलीमा जनताको घर भत्काउनुहुँदैन । माइकिङ गर्नुपर्छ, पूर्वसूचना दिनुपर्छ, मुआब्जा दिनुपर्छ ।’ म डायरी हेरेर बोल्दै थिएँ, हिसिलाजी प्रभावित हुनुभएछ । अनि, उहाँले मेरो डायरी माग्नुभयो र भन्नुभयो, ‘म बाबुरामलाई समाएर ल्याउँछु †’ अर्को कोठामा मिटिङमा बसिरहेको बाबुरामलाई उहाँले समाएरै ल्याउनुभयो । बाबुरामले ‘मलाई यो के ग¥या’, मिटिङ बस्या मान्छेलाई यसरी उठाउन पाइन्छ ?’ भन्दै कराउनुभयो । हिसिलाले ‘केशवले म्याजिक गर्न लाग्यो, हामी पनि यसरी नै जानुपर्ने भयो’ भन्नुभयो । बाबुरामले ‘मसँग अहिले टाइम छैन, बेलुकी आउनु’ भन्नुभयो । अनि, म बेलुकी ६ बजे फेरि पुगेँ । भेट्नेबित्तिकै बाबुराम कड्किनुभयो, ‘भत्काएको कुरामा तपाईंहरु विरोध गर्ने । सडक विस्तार हुँदा के बिग्रन्छ ?’ मैले भने“, ‘गर्ने त यही हो, तर तरिका पु¥याएर गर्नुपर्छ । यसमा मानवीय पक्ष पनि हेर्नुपर्छ ।’ बाबुरामले ‘के गर्ने त’ भनेर सोध्नुभयो । देवेन्द्र पौडेल ‘सुनील’ पनि त्यहीँ हुनुहुन्थ्यो । मैले कागजमा लेखेर भनेँ, ‘भत्काएपछि जनतालाई धनी बनाउनुपर्छ, अनि जनताले आफैं मकहाँ भत्काउन आऊ भनेर बोलाउँछन् †’ यति भनेपछि बाबुरामले ‘लेट्स ज्वाइन माई पार्टी’ भन्नुभयोे । मैले भनेँ कि, ‘माओवादीमा चाहिँ आउँदिन“ †’ पछि म विन्ड मिलको कुरा गर्न बालुवाटार गएँ । त्यस दिन बाबुरामले ‘प्राधिकरण बन्न लाग्यो छ’ भन्नुभयो, तर प्राधिकरण बनिसकेको थियो, उहाँलाई थाहा रहेनछ । अनि, त्यसमा काम गर्ने एउटा मान्छे खोजिदेऊ भन्नुभयो । फेरि साँझ बोलाउनुभयो । म गएँ । बाबुराम त आँखामा आँशु झारेर बसिरहनुभएको थियो । भन्नुभयो, ‘देश बनाउने कुरामा कम्युनिष्ट पार्टीले पनि केही गर्न नसक्ने भए । एमाले पनि बनाउनेमा लाग्दै लागेन । कांग्रेसको कुरै भएन । त्यसैले देश बनाउने प्रक्रियामा लागौं । तपाईंजस्तै मान्छे मलाई चाहियो, नाम भन्नुस्...†’ मैले भनेँ कि, ‘मै हुँदाहुँदै मजस्तो मान्छे किन चाहियो ?’ अनि, ‘लेट्स सेक ह्याण्ड’ भन्नुभयो र कुरा डन भयो । उहाँले मलाई मन्त्रीसँग भेट्न जाऊ भन्नुभयो । तर, मन्त्रीले ‘तपाईं त आइए पास मात्रै रहेछ, त्यसैले अर्कै नाम सिफारिस भइसक्यो’ भने । प्राधिकरणमा नियुक्तिका लागि मास्टर्स गरेर कति वर्षको अनुभव, लब्धप्रतिष्ठितलगायतका विभिन्न प्रावधान पनि रहेछ । मैले भनेँ, ‘त्यो लब्धप्रतिष्ठित भन्ने बुँदामा टेकेर मलाई नियुक्ति गर्नुस् न त †’ उहाँले ‘सचिवले पनि मान्दैन’ भन्नुभयो । अनि, म सीधै बाबुरामजीकहाँ गएँ । ‘अरुलाई नियुक्ति गर्नुरहेछ, किन मलाई जिस्क्याउनुभयो ?’ भनेर सोधेँ । बाबुरामले कानुनी सल्लाह लिनुभयो । त्यसअनुसार, बिहान एउटा क्याबिनेट बसेर नियमावली खारेज गर्नुभयो । त्यो सूचना दिउँसो राजपत्रमा प्रकाशित भयो । र, साँझ फेरि क्याबिनेट बसेर ‘केशव स्थापितलाई नियुक्ति गर्ने’ निर्णय भयो ।

० माओवादीले नियुक्त गरेपछि तपाईं पनि माओवादीकै पुर्जा हुनुभएन त ? – बाबुरामले मलाई ‘माओवादी बन्नुपर्दैन’ भन्नुभएको छ ।

० काममा कत्तिको सहयोग पाउनुभएको छ ? – अरुबाट केही समस्या छैन । ताना गौतम भन्ने नेपाली कांग्रेसको ईशारामा चल्ने भनी चर्चा हुने गरेका व्यक्ति प्रधानमन्त्री कार्यालयको सचिव हुनुहुन्छ । उहाँचाहिँ समस्याका रुपमा खडा हुने गर्नुभएको छ । उहाँको केही महिनापछि अवकाश पनि हुँदै छ ।

० के गर्नुभयो उहाँले ? – उहाँ मुख्यसचिव लाइनबाट हटेका कारण दुःख दिन थाल्नुभएको भनेर साथीहरुले मलाई सुनाए । मैले ऐन संशोधनको कुरा राखेँ । केशरमहलमा अफिस राख्ने कुरामा सहयोग गर्नुभएन । सुकुम्बासीका निम्ति वैदेशिक सहयोग आउने कुरामा पनि सहयोग भएन । प्रधानमन्त्रीलाई जानकारी नदिई ‘यो तपाईंको कार्यक्षेत्रभित्र परेन, त्यसैले यसमा मैले केही बोल्नुपरेन’ भनेर मलाई फर्काउनुभयो । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु, उहाँलाई उहाँका लागि ‘उपयुक्त स्थान’ मा स्थानान्तरण गरिदिऊ“ । शायद, यो काम होला र ट्युनिङ मिल्ने अर्को सचिव आउनुहोला । त्यसपछि मेरो प्वाँख पलाउँछ ।

० एमालेसँगको सम्बन्धको स्थिति के छ ? – एमालेले मलाई ढोकासम्म मात्रै न प्रवेश दिएको हो † त्यहाँबाट लात हान्न पनि नसकिने, भिœयाउन पनि नसकिने । खेलकुद प्रतिष्ठानको सम्मेलनको बेलामा मैले भनेँ, ‘बाबुरामबाट यस्तो अफर आएको छ । मैले केही गर्न नसके पनि गाडीमा तेल हाल्न त सक्छु नि †’ मैले मेची–महाकालीमा खेलकुद संगठन बनाउँछु भनेको थिएँ । तर मलाई सल्लाहकारमा राखियो । म प्रतिनिधि बनेर जित्छु भन्ने त्रासले रातारात मिटिङ बसेर सल्लाहकारले पदाधिकारीको चुनावमा भाग लिन नपाउने नियम बनाइयो । मैले नै वडाध्यक्षदेखि बोकेर ल्याएको जीवनरामले सार्वजनिक रुपमै ‘यो कुनै भविष्य भएको मान्छे होइन, न खेलकुदमा, न राजनीतिमा यसको कुनै भविष्य छैन’ भन्यो । मलाई भरतमोहनले युवा स्वरोजगार कार्यक्रममा लैजान भनेर सबै तयारी पूरा गर्नुभयो । महासचिव ईश्वर पोखरेलले उपलब्ध स्थायी समिति सदस्यको बैठक राखेर ‘केशवलाई तत्काल नपठाउने’ भनी निर्णय गराउनुभयो । त्यसपछि सरकार ढल्यो । र, माओवादी त्यसमा गयो । एमालेमा यो संस्कारहीनता बढेको छ । कसैले कसैलाई माथि जान नदिने † मसानघाटमा बसेर रोएजस्ता छन्, तिनीहरूले एमालेलाई डुबाउँछन् । हामीलाई अछुत भनेर बाहिर राख्ने, अनि घडा फुट्यो भनेर रोइराख्ने † हामी के गर्नसक्छौं ? उनीहरु रोएको हेर्ने मात्रै न हो † त्यसैले ईश्वर पोखरेल ‘महासचिव’ हो कि ‘महाचिप’ हो, मैले बुझ्न सकिनँ ।

० एमालेमा अहिले जातीय पहिचानको रडाको चलेको छ नि † – मैल भनेजस्तो प्राधिकरणको अवधारणामा जाने हो भने, त्यहाँ विकास र समृद्धिका कथा मात्रै हुन्छन् । जाति, धर्म भनेको त पर्व आएका बेला नाच्ने मात्रै हो । अरू बेला सबै विकास र प्रगतिमा लागेका हुन्छन् । अथाह मान्छेको बस्तीमा क्रिकेटमा छक्का हानेजस्तो जसले हान्यो, त्यसले जान्यो भन्ने बुझ्नुपर्छ । जो सुरिलो आवाजमा गाउँछ उही गायक हुन्छ । दमाइले ‘गीत गाउने जात त मेरो हो, त“ बाहुनले किन गीत गाइस्’ भन्न पाउँछ ? दमाइको रेस्टुरेन्टमा सबभन्दा मीठो कुरा पाइन्छ भने थकालीले कठालो समाउन पाउँछ ? आफ्नो सीप, क्षमता भएपछि ऊ त्यसका आधारमा चिनिन्छ । पहिला काठमाडौंमा हामीलाई ‘कठायत’, ‘बम’, ‘चन्द’ भन्ने थर हुन्छ भन्ने थाहै थिएन । अहिले उनीहरुसँगै हामी कौरा नाच्छौं । पहिला हेलम्बुमा ल्होछार आएपछि त्यहाँका शेर्पाहरु भागेर काठमाडौं आउँथे । किनभने, ल्होछारमा गाउँभरिका मान्छेलाई खुवाउनुपथ्र्यो । गरिब शेर्पाहरुसँग पैसा हुँदैनथ्यो । त्यसैले हेलम्बुबाट भागेर काठमाडौंको बौद्धमा आए । त्यहाँ उनीहरुले कार्पेट र गार्मेन्टको काम गरे । रेस्टुरेन्ट चलाए । धेरै पैसा कमाए । अब उनीहरुसँग अथाहा पैसा छ । त्यसैले तामझामका साथ आजकल ल्होछार मनाउँछन् । त्यसैले गरिबीको अन्त्य पहिलो काम हो । झोछेँका मानन्धर अहिले त्यहाँबाट विस्थापित भए । किनभने, ठाउँ साँघुरो भयो । १२ हजार भाडा उठाउँछन् । त्यो पैसा त्यही“ खर्च हुन्छ, सकियो । हामी त्यो ठाउँको सय घरलाई भत्काउँछौं । त्यो ३०–४० करोडको प्रपर्टी हुन्छ । त्यहाँ दमकल जानसक्छ, एम्बुलेन्स जान्छ । अगाडिको कुमारी घरसँगैको स्कुल अन्तै सार्ने, महेन्द्र संस्कृत विश्वविद्यालयको घर पनि अन्तै सार्ने । सयवटा घर भएको ठाउँमा पाँच÷सात तलाको घर बनाउने । तल पानीको भण्डारण गर्ने र चाहिने जति सबै सुविधा उपलब्ध गराउने । मल्लकालीन शैलीमा घर बनाउने । त्यसको दुईदेखि तीन तला बेचिदिने । त्यसबाट ६ अर्ब जति आउँछ । त्यो त्यहीँका मानन्धरहरुमाझ भागशान्ति गरिदिने । मानन्धरहरुलाई त्यही“ बोलाएर उनीहरुको संस्कार जोड्ने । पहिला इनार थियो भने त्यहाँ इनार नै बनाउने । मानन्धरहरु तेल पेल्ने जात हुन् । त्यो सुविधा पनि दिने । इन्डियाको तेल किन खाने ? हाम्रै मानन्धरले पेलेको तेल खाऊ“ न । त्यसैले पुरानो संस्कृतिको गुणगान हैन, नयाँ संस्कृतिको निर्माण गरौं ।

० व्यक्तिगत जिन्दगी कसरी चल्दैछ ? – मैले कपाल उमार्ने प्रविधि भिœयाएँ । योगा चलाएँ । मसँग भएको पैसाले पुगेन । अलिअलि भएको जग्गा बेचेको भए हुन्थ्यो । तर, भाडा पनि तिर्न नसकेपछि बन्द गरिदिएँ । अनि, यत्रो जिम्मेवारी पाएपछि यतैबाट सन्तुष्टी खोज्नतिर लागेँ । शेष घले अष्ट्रेलियाको नामी नेपाली हुनुहुन्छ । उहाँले केशरमहलसँगै जोडिएको १४ रोपनी जग्गामा पाँच तारे होटल बनाउने हुनुभएको छ । पहिलाको बिडिङ कोटमा त्यो सम्भव थिएन । उहाँले अब ६–७ अर्ब लगानी गर्नुहुन्छ । मैले शेषलाई ‘गो अहेड’ भनेको छु । उहाँले किन आँट्नुभयो भने, केशव स्थापित पाँच वर्ष यो पदमा हुन्छ । यसले गर्छु भनेको काम गर्छ–गर्छ ।

० खर्च कसरी चल्दैछ ? – सुन्धारामा पसलहरु भाडामा लगाएको छु । त्यो पैसाले घर खर्च चलेको छ । अफिसको तलब सुविधाले मेरो कफी खर्च पनि चल्दैन । तीन÷चार करोड ऋण छ । महिनाको दुई–तीन लाख आउँछ । अहिले म बसेको महांकालको घर पनि बैंकमा छ । म यहाँबाट सर्न चाहेको, तर पैसा नभएर त्यत्तिकै बसेको छु ।

० आजकल रक्सी निक्कै पिउनुहुन्छ रे † – सानैदेखि रक्सी खाइयो, अझैसम्म खाइरहेको छु । मेरो छोराले बबरमहलमा बार खोलेको छ । त्यहाँ गएपछि ‘ल ड्याड’ भनेर उसैले पनि ‘चियर्स’ गर्छ । तर, म सार्वजनिक ठाउँमा रक्सी पिउँदिन । निश्चित घरहरु छन्, जहाँ पिउँछु । फेरि, रक्सी नै पिउने भनेर पिउँदिन, कुनै काम हुन्छ, त्यस सिलसिलामा पिउने हो । तीन महिनाअघिसम्म त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा ज्यास्मिन क्लब छ, त्यहाँ जिम गर्थें । चालीस किलोसम्मको फलाम बोक्थेँ । १८–२० वटा त अण्डा नै खान्थेँ । भित्रको पहेँलो भाग ºया“केर खान्थे । मेरो पाखुरा त पठ्ठो जवानको जस्तो भएको थियो ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान