गाउँघरतिर चर्चा हुन्थ्यो– कम्युनिष्टहरु विशेष धातुले बनेका हुन्छन् । दर्शन बुझेका, तर्क गर्न सिपालू, चौबिसै घन्टा कार्यक्षेत्रमा खट्नसक्ने, समाजलाई चिनेका, देशलाई बुझेकाहरू चिन्तनशील, गतिशील, स्वाभिमानी हुन्छन् भन्ने बुझाइ थियो । कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ भन्दा गर्व लाग्थ्यो । विशेष धातुको उपमा किन दिए होलान् भन्ने कौतुहल जाग्थ्यो । मध्यरात स्कुलका कक्षा कोठामा प्रशिक्षण लिन जान्थ्यौं, अहिले पनि स्मरण भइरहन्छ– सानो रातो किताब देखाई माओत्सेतुङका उक्तिहरु पढाइन्थ्यो । कम्युनिष्ट हृदय विशाल हुनुपर्छ, इमान्दार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरुलाई आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ, व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । पार्टीको सामूहिक जीवनलाई मजबुत तुल्याउन पार्टी र जनताका सम्बन्धलाई अझ बलियो पार्न सधैं सही सिद्धान्तमा अडिरहनुपर्छ, सबै गलत विचार र कामहरुको विरोधमा अथक संघर्ष चलाउनुपर्छ, कुनै व्यक्ति वा समूहको भन्दा पार्टी, जनता र आफूले अंगीकार गरेको सिद्धान्तको पक्ष लिनुपर्छ । यसोभए मात्र ऊ विशेष धातुले बनेको सिद्धान्तद्वारा निर्देशित कम्युनिष्ट बन्न सक्छ भनेर कम्युनिष्ट बनाइन्थ्यो ।
जीवन, जगत र दर्शनको अध्ययन गर्ने, सधैं सत्यको पक्षमा उभिने, सबैभन्दा दूरदर्शी, त्यागी, अध्ययनशील, परिस्थिति बुझ्नसक्ने, आन्दोलनमा दृढ, श्रमजीवी तथा सर्वहारावर्गको पक्ष लिने, वर्गीय पक्षधरतालाई अंगीकार गर्ने, लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयतालाई आदर्श मान्ने व्यक्ति कम्युनिष्ट हुन सक्छ भन्ने मान्यता थियो ।
युवाहरुको आकर्षण कम्युनिष्ट पार्टीमै हुन्थ्यो तर पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरु आडम्बरी, ठूल्ठूला शब्द बोल्ने– व्यवहारमा जे पनि गर्न पछि नपर्ने, वर्गीय धरातल र हैसियत बिर्सेर विदेशीको इशारामा जातीयताको गीत गाई विधिविधान, अनुशासन पद्धति नमान्ने, आरोप–प्रत्यारोपको खेतीमा रमाउने प्राणीको रुपमा नयाँ पिँढीले बुझ्न थालेको छ । कम्युनिष्ट पार्टी चल्ने लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा हो, चिनमा माओत्सेतुङले तीन–आठ नियमको रुपमा त्यसको कार्यान्वयन गर्नुभयो । फिडेल क्यास्ट्रो, किम इल सुङ, हो चि मिन्हजस्ता नेताहरुले पनि आफ्नो देशमा त्यसलाई लागू गर्नुभयो । लेनिनवादी संगठनात्मक सिद्धान्त भनेको सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त हो, त्यहीअनुरुप नेपालका कम्युनिष्ट पार्टीहरु चल्दै आइरहेका थिए तर यतिबेला कम्युनिष्ट नेता–कार्यकर्ताहरु त्यो मर्मअनुसार अगाडि बढ्न सकेका छन् कि छैनन् ?
पार्टीका निर्णित विचारहरु नमान्ने, आफूअनुकूल निर्णय भए ठीक नत्र बेठिक भन्ने, आलोचना नस्वीकार्ने, बैठकमा उपस्थित नहुने, पार्टीको विचार विपरीत नेताहरुको विरोधमा खुलेआम बोल्ने, विरोधी पार्टीका नेताहरुसँग साँठगाँठ गर्नेजस्ता क्रियाकलापले वर्गीय आन्दोलनलाई कुन धरातलमा पु¥याउला ? पूर्व केन्द्रीय सदस्य त्रिलोचन ढकालले प्रकाशित गरेको पार्टी संगठनको व्यवस्थापन भन्ने पुस्तकमा लेखिएको छ, ‘मानिस जन्मेदेखि विचार या मत व्यक्त गर्न सक्छ, उसले बोलेर, लेखेर समाज समक्ष आफ्नो विचार राख्दछ, विचारको प्रचार–प्रसार गर्नु मानिसको नैसर्गिक अधिकार पनि हो, आफूलाई लागेको कुरा निर्वाध व्यक्त गर्ने मानिसको स्वतन्त्रतालाई वैचारिक स्वतन्त्रता भनिन्छ तर सत्य के हो भने व्यक्तिको स्वतन्त्रता अनुशासनको मातहतमा हुनुपर्छ । अनुशासनबेगरको स्वतन्त्रता छाडावाद मात्र हुन सक्छ । त्यस्तो स्वतन्त्रता वास्तविक स्वतन्त्रता हुन सक्दैन । त्यो त अराजकता हुन जान्छ । ब्रह्माण्ड र त्यसमा रहेका सम्पूर्ण पिण्डहरु आफ्नो ठाउँमा विचरण गर्न स्वतन्त्र छन् तर तिनीहरुको विचरण गुरुत्वाकर्षणको निश्चित नियमहरुद्वारा नियन्त्रित हुन्छ, त्यो नियमको एउटा पिण्डबाट मात्र पनि उल्लंघन भयो भने ब्रह्माण्डमा विष्फोट भई प्रलयकारी घटना घट्न सक्छ । ब्रह्माण्ड मात्र होइन, परमाणुको अस्तित्व पनि नियम पालनामाथि नै आधारित हुन्छ । निश्चित नियमद्वारा सञ्चालित न्युट्रोन, प्रोटोन र इलेक्ट्रोनको सन्तुलनले मात्र परमाणुको अस्तित्व जाहेर हुन सक्छ, जड तथा वस्तुगत दुनियाँ त नियमहरुद्वारा बाँधिएको छ भने मानव समाज पनि नियमद्वारा सञ्चालित हुने गरेको छ ।
कोही धार्मिक, कोही जातीय, कोही सांस्कृतिक, कोही सैद्धान्तिक त कोही राजनीतिक नियमहरुद्वारा बाँधिएका हुन्छन् । मानव समाजमा यस्ता नियमलाई अनुशासन भन्ने गरिएको छ । सिंगो समाज मात्र होइन, नियमविपरीत चल्ने हो भने सानो परिवारको पनि अस्तित्व रहँदैन । त्यसकारण साँचो वैचारिक स्वतन्त्रता अनुशासनभित्र मात्र प्राप्त हुन सक्छ । तसर्थ कम्युनिष्ट पार्टीभित्र अनुशासनको सीमा रहनैपर्छ । माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्न सक्नुपर्छ, सर्वहारा, श्रमजीवी वर्गपक्षधरताबाट विमुख हुनुहुँदैन, त्यो स्थापित मान्यता कम्युनिष्ट आन्दोलनमा त्याग, समर्पण र बलिदान दिई लामो समय काम गरेका नेताहरुले मनन गर्ने कि नगर्ने ? कम्युनिष्ट पार्टीहरुलाई सिद्धान्तद्वारा निर्देशित पार्टी बनाउने कि जातिहरुो महासंघ बनाउने ? श्रीलंकामा सिंहला जातिले तमिल जातिमाथि एकतर्फी शासन जमाएको निहुँमा ६० हजार बढी मान्छेको मृत्यु भएको पाठ नेपालका कम्युनिष्टहरुले सिक्ने कि नसिक्ने ? जातीय पहिचानको मुद्दाले कम्युनिष्ट पार्टीहरुलाई विखण्डनको दिशामा अगाडि बढाएको सत्य स्वीकार्न जरुरी छ ।
दर्शनले भन्छ– जे चिज सही छ, त्यसलाई बढावा दिनुपर्छ र जे चिज गलत छ, त्यसको विरोध गर्नुपर्छ ।
भर्खरै मात्र एमाले अनुशासन आयोगले असन्तुष्ट नेताहरुलाई मर्यादामा रहेर छलफल गर्न र बाहिर जथाभावी नबोल्न दिएको निर्देशन र जनजाति नेताहरुले दिएको जवाफलाई उदाहरणका रुपमा लिन सकिन्छ । मुलुक यतिबेला इतिहासकै अत्यन्त जटिल मोडमा उभिएको छ, राष्ट्रिय स्वाभिमानको सम्प्रभूता र राष्ट्रिय अखण्डता नै समाप्त हुने खतरा बढेको छ । आपसी घृणा, अविश्वास, आन्तरिक मतभेद, जातीय तथा क्षेत्रीय भावनाको बोलवालाले भविष्यको कहालिलाग्दो तस्बिर उजागर गरेको छ । कम्युनिष्ट नेताहरुले लगाउने जातीयताको नाराले मुलुक झन् द्वन्द्व र संकटमा नफस्ला भन्न सकिन्न । यतिबेला जनतालाई बहुआयामिक र शालीन नेतृत्वको खाँचो छ, जसले आवेग र पूर्वाग्रहबाट होइन, बुद्धिमत्तापूर्ण ढंगबाट असन्तुष्ट आवाजहरुलाई संबोधन गर्न सकोस्, असन्तुष्टिहरुलाई सामना गर्न सकोस् । यसका निम्ति नेतृत्वको सबलता र शालीन उचाइ आवश्यक छ ।
कम्युनिष्ट पार्टी मन्थनको कठोर प्रक्रिया पूरा गरी अगाडि बढ्ने भएकाले त्यहाँभित्रका असन्तुष्टिहरुलाई बुझ्ने पद्धतिमा ढाल्ने कोसिस गर्नुपर्छ । करकाप, डर–धम्कीद्वारा मानिसहरुलाई कदापि नियन्त्रणमा ल्याउन सकिँदैन, तसर्थ कम्युनिष्ट आन्दोलनमा जीवन बिताएका नेताहरुले मेरो गोरुको बाह्रै टक्का भन्ने अहंकार अन्त्य गरी सबै जाति, भाषा, धर्म, संस्कृतिको सम्मान गर्ने वातावरण निर्माण गर्दै सिद्धान्तद्वारा प्रेरित वर्गीयताको हिमायती हुन सके कम्युनिष्टहरु विशेष धातुले बनेका हुन्छन् भन्ने बुझाइले सार्थकता पाउँथ्यो कि ?