लेख/रचना
 
कान्तिपुरबाट कति टाढा छ भक्तपुर ?
– कमल कोइराला
 
नागरिकमा आइतबार प्रकाशित समाचारअनुसार नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले ‘आफूहरु एकल जातीय राज्यको विपक्षमाा रहे पनि मिडिया र केही ठूला दलका नेताले एकोहोरो जातीय राज्यको पक्षमा उभ्याएको’ आरोप लगाएका छन् । उनले भने, ‘जनजाति महासंघको दस्तावेजमा अहिलेसम्म जातीय राज्यको पक्षमा वकालत गरिएको छैन ।’

यो पढ्नुपहिलेसम्म मलाई पनि राजकुमाका विचारबारे भ्रम थियो । कान्तिपुरको २३ गते शनिबारको अंकमा राजनीतिक पार्टीका नेताहरु फुटेर अलग जनजाति पार्टी बनाउँदै छन् र एमालेका उपाध्यक्ष अशोक राई पनि यसनिम्ति आयोजित भक्तपुर भेलामा सहभागी थिए भन्ने समाचार हेटौंडामा पढेँ । त्यसको भोलिपल्टै काठमाडौं पुगेर कान्तिपुर पढ्दा अशोक राईले भन्नुभएको पाइयो– म अघिल्लो दिन भनिए झैं उक्त भेलामा थिइन । कान्तिपुरजस्तो अखबारमा त त्यस्तो नहुनुपर्ने हो । कहिलेकाहिँ विश्वसनीयतामा धमिरा लाग्नु ठूलो कुरा होइन किनकि सानो भुलले पनि पत्रकार र पत्रिकाको प्रतिष्ठालाई प्रतिकूल प्रभाव पर्छ । त्यसपछिका १०–१२ घन्टा म उद्दिग्न रहेँ तर गोपाल खनाल र दुर्गा खनालले अशोक कमरेडसँग गरेको संवाद पढेपछि तनाव शिथिल भयो ।

संविधानसभामा जनजाति ककसको संयोजक रहनुभएका पृथ्वीसुब्बा गुरुङले अलग संस्था बनाउनु आवश्यक नरहेको कुरा त्यस भेलामा भन्नुभएको भनी एउटा साप्ताहिकमा अस्ति सोमबार पढेँ । सम्बन्धित स्रोतका अनुसार विश्व आदिवासी दिवस १० अगस्त (साउन २७) पारेर नयाँ पार्टी घोषणा हुने सम्भावना छ तर सुरुमा एमाले र कांग्रेसका जनजातिलाई अर्को पार्टी खोल्न उक्साउने एमाओवादी नेताहरु हिसिला यमी, लोकेन्द्र बिष्ट, वर्षमान पुन, गोपाल किरातीचाहिँ आफ्नै पार्टीमा बस्ने कुराले उनीहरुमा ठूलो अविश्वास र शंका उत्पन्न भएको छ कि एमाओवादीहरुको दाउ अरु पार्टी फोड्ने मात्र हो । राष्ट्रिय स्तरको र विभिन्न ठाउँबाट एकसाथ निस्कने अखबारले समेत भक्तपुर भेलाबारे गलत समाचार छाप्नु उदेकलाग्दो कुरा भयो । विश्वसनीयता पनि पत्रिका र पत्रकारलाई आवश्यक हुन्छ । मेरा साथी हस्त गुरुङले एउटा घटना सुनाउनुभयो । पत्रपत्रिकाको अंग्रेजी अनुवाद त्यसैदिन राति १२ बजेअगावै नेपालमा कार्यरत एउटा अन्तर्राष्ट्रिय संस्थालाई दिनुपर्दथ्यो । मुख्य कुरा उहाँले हेर्नुभएछ तर एक–दुईवटा साना अनुवादका टुक्रा राम्रो अंग्रेजी जान्ने युवा पत्रकारको जिम्मा दिएर मध्यरात घर हिँड्नुभएछ ।

देशमा द्वन्द्वको बेला थियो । भोलिपल्टै संस्थाको प्रमुखले बोलाएर उफ्रँदै भनेछन्– ‘यो हुलाहुली भन्ने ठाउँ कहाँ पर्छ ? हामीले नेपालको नक्शा जाँच गर्दा त्यो ठाउँ कहीँ फेला परेन । कुरा के हो ?’ चुलाचुलीमा अंग्रेजी एक अक्षर ‘सि’ छुटेर हुलाहुली हुन गयो वा अंग्रेजी धेरै राम्रो भए पनि भूगोल कम जानेर त्यसो भयो तर गल्ती त भएकै हो । यत्रो अन्तर्राष्ट्रिय संस्थाले विश्वास गरिदिएको काममा सानै गल्ती भए पनि उहाँले धेरै अफसोस प्रकट गर्नुभयो र अब उप्रान्त कहिल्यै त्यस्तो नहुने विश्वास दिनुभयो । त्यसपछि सानो सानो टुक्रा पनि एकपटक आफैं हेर्न थाल्नुभयो । राति १२ को साटो २ बजेसम्म खटेर पनि एकपटक सबै आफैंले हेर्न प्रारम्भ गर्नुभयो । पत्रकारको विश्वसनीयता केवल अन्तर्राष्ट्रिय संघसंस्थालाई मात्र होइन, राष्ट्रिय पाठकलाई पनि चाहिन्छ । अमेरिकी प्रसिद्ध पत्रकार ज्याक एन्डर्सनले इन्दिरा गान्धीको क्याबिनेटमा युद्ध र रक्षासम्बन्धी गोप्य जानकराी राख्ने वरिष्ठ मन्त्री सिआइएको सुराकी भएको समाचार दिए तर उनले ती व्यक्तिको नाम लेखेनन् ।

उनले भारत–पाकिस्तान युद्धको तयारीताका त्यस्तो सूचना सिआइएले पाएको कुरा बताए । धेरैले आशंका गरे– कतै त्यो व्यक्ति मोरारजी देसाइ, जगजीवन राम र वाइबि चौहानमध्ये त थिएन ? मोरारजी देसाइ प्रधानमन्त्री भइसकेपछि अर्का प्रसिद्ध पत्रकार सेमुअर हर्सले एउटा पुस्तकमा त्यो मान्छे मोरराजी देसाइ नै भएको ठहर गरे । देसाइले अमेरिकी अदालतमा मानहानीको मुद्दा ठोके । त्यस मुद्दाको सिलसिलामा शपथ लिएर बयान गर्दै तत्कालीन विदेशमन्त्री हेनरी किसिन्जर र तत्कालीन सिआइए निर्देशक रिचर्ड्स हेल्म्स दुवैले गुप्त सूचना दिने मोरारजी देसाइ होइन भने तर भारतीय राजदूत र भारत सरकारलाई तत्कालीन प्रधानमन्त्री नरसिंह रावले स्पष्ट उत्तर नदिन र ‘रअ’लाई प्राप्त जानकारी गुप्त राख्न राजनीति गरे । नतिजा यो भयो कि मोरारजीले मुद्दा जित्न सकेनन् । आज पनि भारतको परराष्ट्र मन्त्रालयले जानकारी भए पनि त्यो व्यक्तिको नाम प्रकट गर्न दिएको छैन ।

भारतीय प्रसिद्ध पत्रकार विनोद मेहताले बम्बईबाट प्रकाशित एक दैनिकको सम्पादक रहँदा आफूलाई प्राप्त जानकारीअनुसार त्यो व्यक्ति वाइबी चौहान हुन् भन्दा महाराष्ट्रको हिरो राजनीतिज्ञलाई बद्नाम गर्ने भन्दै उनलाई महाराष्ट्रबाट ज्यान जोगाउन गाह्रो प¥यो । नेपालको सबैभन्दा बढी वितरण हुने र कैयौं ठाउँबाट एकसाथ प्रकाशित हुने दैनिकमा आजको भोलि नै उल्टो देखिने समाचार आउनु उचित हुँदैन । धेरैले चासो लिएको भक्तपुरको दुई दिने सम्मेलनबारे यति नजिकै हुँदाहुँदै पनि प्रत्यक्ष जानकारी लिने र सम्बन्धित जानकारी नलिने कामले नेपालभरि र विदेशमा समेत गलत जानकारी प्रवाहित भएको सजिलै बुझ्न सकिन्छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान