नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीका असन्तुष्ट जनजाति मिलेर अलग्गै जातीय पार्टी गठन गर्ने गृहकार्य भइरहेको चर्चा चलेको छ । विभिन्न दलका जनजाति नेताले मूलपार्टीस“ग सन्तुष्टि व्यक्त गरिरहेका बेला चलेको यस्तो चर्चाले हावा नचली पात हल्लिएको होइन भन्ने आधार प्रदान गरेको छ । तर, विचारका आधारमा स्थापित पार्टी छाडेर जातीय आधारमा नया“ दल गठन भयो भने त्यसको भविष्य गोरेबहादुर खपांगी र उनको ‘जनजाति’ पार्टीजस्तै नहोला भन्न सकिन्न ।
०४७ को राजनीतिक परिवर्तनपछि सेता मगुरालीको व्यापक चर्चा भयो । त्यसपछि जनमुक्ति पार्टीको जन्म गराइयो र पूर्व माले नेता गोरेबहादुर खपांगीले क्षत्री–बाहुनको विरोध गर्ने मोर्चा सम्हाले । त्यसैको मानसपुत्रका नाममा यतिबेला देशमा जनमुक्ति पार्टी सानो समूह अस्तित्वमा छ र समानुपातिकको भाग्यचिह्नबाट त्यसका नेता एमएस थापामगरले मन्त्री बन्ने अवसर पनि पाइसकेका छन् । तर, जातका आधारमा गठित जनमुक्ति पार्टीको अस्तित्व भने फस्टाउन सकेन ।
जातका आधारमा गठन गरिने पार्टीले प्रत्यक्ष निर्वाचनमा भोट भाग्दा अन्य जातिलाई गाली गरेर बहुमत पाउन सक्दैन । कुनै पनि चुनाव क्षेत्रमा एउटा जातिको मात्रै बहुमत नहुने र जनजाति पनि विभिन्न दलमा विभाजित हुने भएकाले जातीय नाराले चुनाव जित्ने अवस्था न्यून रहन्छ । समानुपातिक चुनाव भएमा त्यसमा केही सिट आउनुबाहेक प्रत्यक्ष चुनाव जित्न जातीय पार्टीलाई गाह्रो छ । यस्तो अवस्थामा जातीय पार्टीको भूमिका नगन्य हुने देखिन्छ । कांग्रेस र कम्युनिस्ट पृष्ठभूमिका जनजाति मिलेर एउटा पार्टी बनाउ“दा त्यहा“ ठूलो सैद्धान्तिक एवं संगठनात्मक विपत्ति बढ्न सक्छ ।
विगतमा मधेसी जनअधिकार फोरमले एउटा शक्तिका रूपमा आफूलाई उभ्याए पनि उपेन्द्र यादव, विजयकुमार गच्छदार र शरत्सिंह भण्डारीहरू फरक–फरक स्कुलिङबाट आएका कारण एक ठाउ“मा रहन सकेनन् । पहाडका जनजातिमा पनि राई, लिम्बू र अन्यमा विवाद बढ्ने सम्भावना एकातिर छ भने कांग्रेस र कम्युनिस्ट जनजातिबीच चा“डै फुट आउने खतरा रहन्छ । त्यसर्थ जनजातिको नया“ पार्टी जन्मिइहाल्यो भने पनि त्यो दीर्घकालीन रूपमा टिकाउ नहुने र चा“डै टुटफुट हुने खतरा रहन्छ । यस्तो अवस्था आयो भने मधेसी जनअधिकार फोरमजस्तै वा जनमुक्ति पार्टीजस्तै जनजाति पार्टी खिइने निश्चित छ ।
जनजाति पार्टीको पहु“च राष्ट्रव्यापी हुन नसक्ने अर्को समस्या छ । राई लिम्बू, मधेसीलाई समेटिए पनि त्यसले कर्णाली वा महाकालीलाई समेट्न सक्दैन । यस्तो स्थितिमा यो पार्टी क्षेत्रीय दलकै रूपमा खुम्चनुपर्ने हुन्छ जसबाट राष्ट्रिय पार्टीस“ग प्रतिस्पर्धा गर्न गह्रो पर्छ ।
उल्लिखित अप्ठ्यारातर्फ विचार नगरी राष्ट्रिय पार्टीबाट चोइटिएर क्षेत्रीय पार्टी बनाउने सोचाइ कुनै जनजाति नेतामा आयो भने कम्युनिस्ट छाडेर जातीय राजनीतिमा लागेका गोरेबहादुर खपांगीजस्तै गन्तव्यहीन बन्ने स्थिति नआउला भन्न सकिन्न । के गर्ने ? नेताहरूले नै विचार गर्ने कुरा हो ।