काठमाडौं । लोभको भाँडो भरिँदैन भन्ने कुरालाई एकजना सरकारी कर्मचारीले प्रमाणित गरेका छन् । मुलुकको समग्र आयव्ययको चाँजोपाँचो मिलाउने अर्थ मन्त्रालयका सहसचिव रणबहादुर श्रेष्ठ मन्त्रालयमा त पहिलेदेखि नै भ्रस्ट कर्मचारीका रुपमा परिचित थिए, अहिले भने पापको धन थन्क्याउने अनामनगरस्थित घर भएको टोलमा समेत छिःछिः, दुरदुरको पात्र बनेका छन् ।
अर्थ मन्त्रालयलाई आगामी वर्षको लागि बजेट बनाउन चटारो परिरहेका बेला अर्थ सचिवदेखि अन्य धेरै कर्मचारीलाई भ्याइनभ्याइ छ तर श्रेष्ठचाहिँ अर्कै धन्दामा व्यस्त छन् । उनले आफूलाई व्यस्त राखेको यो धन्दा कुनै बन्द व्यापारको होइन, बरु छरछिमेकमा सिमाना मिच्ने खेती हो । सरकारी सम्पत्ति निजी बनाउनमा माहिर श्रेष्ठले आफ्नो घरको दक्षिणतर्फको सडक छेउ फुटपाथ मिचेका छन् भने पूर्वतिरको कुमारी मन्दिर र सार्वजनिक जग्गा हडपेका छन् ।
स्थानीयबासीले सार्वजनिक जग्गा नमिच्न पटक–पटक गरेको आग्रहलाई बेवास्ता गर्दै आएका उनलाई तह लगाउन स्थानीयहरु रणमैदानमा उत्रने तयारीमा थिए तर हिजो मंगलबार महानगरपालिकाले नगररक्षक धनपति सापकोटाको नेतृत्वमा आएको टोलीले सार्वजनिक जमिनमा श्रेष्ठले बनाएको संरचना भत्काउन थालेपछि चाहिँ सहसचिव श्रेष्ठ टाउको लुकाउँदै सिंहदरबार छिरेका छन् ।
– राजकुमार रायबाट