काठमाडौं । एमाओवादीबाट वैद्य पक्ष छुट्टिएर गएपछि मूल पार्टीमै मन फाटेको टिप्पणी सार्वजनिक भए पनि प्रचण्डले बाबुराम प्रधानमन्त्री भएदेखि नै शंकाको नजरले हेरिरहेको तथ्य फेला परेको छ । पार्टीभित्र लामो समयदेखि चल्दै आएको दुईलाइन संघर्षमा सक्रिय एउटा लाइन विभाजित भएर अलग पार्टी घोषणा गरेपछि अब संस्थापन लाइन (पार्टीको मूल लाइन) का रूपमा बाबुरामका विचार नै पारित हुने र आफ्नो अस्तित्व नै संकटमा पर्ने त्रासले अध्यक्ष प्रचण्डको निद्रा बिथोलिएको हो । प्रचण्डमा हाल देखिएको मनोवैज्ञानिक त्रास र बाबुरामलाई निषेध गरेर अगाडि बढ्न नसक्ने बाध्यता नै अहिलेको समस्याको चुरो हो ।
कुरा गत वर्ष कात्तिक ५ गते प्रधानमन्त्री बाबुराम भट्टराईले दक्षिणी छिमेकी मुलुक भारतको भ्रमण पूरा गरी स्वदेश फिर्ता भएपछिको हो । प्रचण्डले बाबुरामको भ्रमण टोलीमा रहेका एकजना मधेसी नेतालाई पटक–पटक फोन गरे, भ्रमण पूरा गरी फर्किएपछि प्रत्येक पटकको फोन वार्तामा प्रचण्ड एउटै कुरा गर्थे– ‘तपाईंसँग भेटेरै कुरा गर्नुपर्ने थियो, एकपटक मकहाँ आउनुस् न समय मिलाएर ।’
एक÷दुईपटक मात्र होइन, सत्तारूढ दलका प्रभावशाली अध्यक्षले ५÷५ पटक फोन गरेपछि ती नेता नयाँबजार गए । सामान्य हालखबर र सन्चो, बिसन्चोपछि प्रचण्डले बडो व्यग्रता र चासोपूर्ण ढंगले जिज्ञासा राखे ‘मित्र, तपाईं भ्रमणको दौरान सबैजसो महŒवपूर्ण भेटघाटमा सामेल हुनुभएको छ, नढा“टी मलाई भन्नुस्, बाबुरामजीले शान्ति र संविधानको कुरा राख्दा मेरो प्रसंग कोट्याउनु भयो कि भएन ?’ यो सोधाइको भावबारे मन्त्री गम खाँदै थिए, प्रचण्डले कुरा स्पष्ट पारे, ‘मैले भन्न खोजेको के भने मिडियामा कही“–कतै उहाँले मेरोबारे कुरा गरेको र शान्तिप्रक्रियामा मैले पु¥याएको योगदानबारे चर्चा गरेको सुनिएन, मिडियाले जानाजान यो प्रसंग बाहिर नल्याएको हो वा भएकै त्यस्तै हो ? यही कुरा तपाईंबाट बुझ्न चाहेको हुँ ।’ आफ्नै उपाध्यक्षप्रति प्रचण्डले देखाएको अविश्वासको फाइदा उठाउँदै भए÷नभएका कुरा गर्नु र पोल लगाएर ती दुईबीच तनावपूर्ण अवस्था सिर्जना गरिहाल्नु उचित ठानेनन् ती मन्त्रीले, त्यसैले कूटनीतिक शैलीमा जवाफ दिए ।
तर, प्रचण्ड भने त्यसबाट सन्तुष्ट भएनन् र लामो भूमिकासहित फेरि अर्को प्रश्न सोधे, ‘अब हेर्नुस्, चारजना वामपन्थी प्रधानमन्त्री भए अहिलेसम्म गणतान्त्रिक नेपालमा । त्यसमध्ये मैले कसरी प्रधानमन्त्रीबाट हट्नुप¥यो त्यो सबैलाई थाहा छ । माधवकुमार नेपालसँग पनि अन्तिम–अन्तिम समयमा भारतको राम्रो सम्बन्ध रहेन । झलनाथजीलाई उनीहरूले पत्याएनन् । के अबचाहिँ वामपन्थी र वामपन्थीमा पनि बाबुरामबाटै सबै कुरा पार लाग्छ भन्ने भारतीय संस्थापनको बुझाइ हो त ? तपाईंले के पाउनुभो ?’
ती मित्रसँग प्रचण्डले गरेको कुराकानी र उनले राखेका जिज्ञासाको विश्लेषण गर्दा के देखिन्छ भने प्रचण्डमा दुईवटा कुराले घर गरिरहेको छ । पहिलो, कतै बाबुरामले भारतको सहयोग लिएर आफूलाई लामो समयसम्म पछाडि पो पार्ने हुन् कि भन्ने मनोवैज्ञानिक त्रास र दोस्रो, आफूप्रति भारतीय नीति नरम राख्न बाबुरामलाई सरकारमा टिकाउनैपर्ने बाध्यता ।
कतै बाबुरामलाई माध्यम बनाएर भारतले आफूलाई पछिल्तिर धकेल्ने पो हो कि ? भन्ने शंकाले समेत प्रचण्डलाई नराम्ररी सताइरहेको बुझिएको छ । वैद्य पक्ष पार्टीबाट बाहिरिएपछि ‘बाबुराम फेबिया’ ले सताएका प्रचण्ड अघिल्लो मंगलबार अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आफ्नो पक्षमा राख्न पुल्चोकस्थित मन्त्रीक्वार्टर पुगे । स्रोतका अनुसार, दाहालले त्यस भेटमा श्रेष्ठलाई आफूसँग मिलेर अगाडि बढ्न अनुरोध गरे । यसरी धाइ–धाई प्रचण्ड अन्य नेतालाई भेट्न जानुलाई बाबुराम पक्षधरले चाहिँ गुट निर्माणलाई प्रचण्डले औपचारिकता दिएको रूपमा लिएका छन् ।
स्रोतका अनुसार वैद्यले छाडेर गएका पदका लागि समेत माओवादीभित्र तीव्र लबिङ सुरु भइसकेको छ । प्रकाशले आफ्नो समूहका मान्छेलाई अगाडि सार्ने सुर कसेको थाहा पाएर विस्तारित बैठकसम्म पदपूर्ति नगर्ने सहमति गरी आएका भए पनि प्रचण्ड बाबुरामले अघि सारेका नेतालाई अस्वीकार गर्न सक्ने अवस्थामा रहेको बुझिएको छ । तर, प्रकाशले चाहिँ एकताको भाव कायम राख्न पनि आफ्नो पक्षलाई महासचिव दिनुपर्ने अडान राखिरहेका छन् ।