|
अहिले त्यही मौनतामा अनेकथरी दाबी, वाद-विवाद देखिएका छन्, सुनिएका छन् तर नेपाल आमा मौन । सन्तानको चाहिँ आ-आˆनै बुझाइ छ ।
करिब सात वर्षअगाडि जसै मैले आमासँग भनेको थिएँ, ँमाँ, म अब राजीनामा दिएर बेलायत जान्छु ।' आमाले अक्क न बक्क परेर मलाई हेर्नुभयो । आमाको त्यही मौनताका बीच घरमा ठूलै स्केलको भुइँचालो गयो । बुबा, दाजुभाइ, दिदीबहिनी एक मुखले मेरो सोचको खिलाफ तर म थिएँ दृढ । अनि मेरी आमा मौन । दोधारको मनस्थितिमा म बाल्यकालदेखि मन परेको जागीर, मातृवात्सल्य, बन्धुत्व अनि जन्मभूमि छाड्ने निर्णयमा पुगेँ । एक मनले भनेको थियो, ँनछाड् ।' अर्को स्वाभिमान बोल्यो, ँतत्कालीन परिस्थितिको हैकमवादी थिचाइ अर्थात् प्रहरी प्रमुखसँगको अघोषित द्वन्द्व ।' अगाडि पर्दा, ँतिमी राम्रो अफिसर' भनिरहने, पछाडिबाट छुरा हान्न पनि नछाड्ने तर ती पीडा घरभित्र लुकाएकै थिएँ । म अब दृढ थिएँ र आमाको मौनतालाई समर्थन मान्दै तत्कालीन प्रमुखलाई सोधेको थिएँ, ँतेरो-मेरो अनि सिनियरको स्वच्छन्दताले कार्य चल्छ कि सिस्टमको व्यवस्थापनले ?' उनी अवाक थिए, फौजी परम्पराविपरीत अर्थात् जुनियरले सिनियरलाई सोध्नै नसक्ने तर सोध्नै पर्ने प्रश्नसँगै मैले घोषणा गरेको थिएँ, ँअब राजीनामा गर्छु ।' आइजिपी निवासमा भूकम्पीय धक्का महसुस त गरेँ तर त्यसको असर हेर्नेतिर नलागी प्रहरी प्रधान कार्यालय गएर राजीनामा बुझाएँ । आˆनो चेलासहित धेरै धेरै सिनियर अधिकृतले मलाई रोके । म घर पुग्दा परिवार यी घटनाक्रमबाट बेखबर थियो । विस्तारै खुलेका यथार्थबीच फेरि पनि मेरी आमा मौन । म आमाको अनुहार पढ्न त सक्थें तर पढिन । भनौं, पढे पनि नपढे झैं अभिनय गरेँ । किनकि जे गर्नु मैले गरिसकेको थिएँ ।
अहिले नेपालको हालत उस्तै छ । अनि मेरी आमा र नेपाल आमा एउटै लाग्छ, जो सन्तानको अनुहार हेरेर मौन बसिदिन्छे, सन्तानको पीडा सहिदिन सक्छे, सन्तानको दुःखमा दुःख लुकाउन सक्छे, खुसीमा रमाइदिन सक्छे । अझ भनौं सन्तानको इच्छामा मौन बसिदिन सक्छे वा बसिदिन्छे । अनि मन परे पनि, नपरे पनि सन्तानका लागि पीडा नदिन मौन बसिदिन सक्छे । त्यसै गरेकी थिइन्, आमाले । अहिले नेपाल आमाको अवस्था त्यस्तै लाग्छ । सन्तानले यो गर्छु भन्दा पनि मौन बसिदिने, त्यो गर्छु भने पनि चुप लाग्न । सन्तानको इच्छामा आएको सबै स्विकारिदिने- प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ।
मैले राजीनामा दिँदा कोही पनि निर्णयको पक्षमा थिएन । म पछाडि फर्किन तयार भइनँ । सन्तानको सुख नै अन्तिम सुख हो भन्ठानेर आमा बोल्नुभएन, बोले पनि तगारो हाल्नुभएन । अनि सोच्नुभयो- कुद्न खोजेको सन्तानलाई तगारो हाल्नुहुन्न, आफैंले हालिदिएको पखेटा काट्नु हुँदैन । सन्तान आˆनो इच्छामा बाबुआमाको सपना देख्छ तर बाबुआमा सन्तानको इच्छामा आˆनो इच्छा भोग्छ । त्यही सन्तानको इच्छामा देखेको आमाको मौनतालाई एउटा आधार मानेर मैले मन परेको जागिर छाडेँ, परिवार छाडेँ, जन्मभूमि छाडेँ, अनि ममतामयी आमालाई छाडेँ । सन्तानको सपनाको आधार संविधानसभा भंग भयो, संविधानसभा भंग हुँदा पनि आमाको माौनता भंग भएन । नेपाल आमाले कोलाहल गरिनन्, किन यस्तो ? सोधिनन् । बिल्कुल मेरी आमा जसरी । आमाले मन नपराएको जागिर खाँदा पनि र त्यही सन्तानले मन पराएको जागिर छाड्दा पनि अझ भनौं आफूलाई छाड्दा पनि, अनि आफ्नो जन्मभूमि छाड्दा पनि ।
म बेलायत आएको केही समयपछि बुबा-आमालाई देशदर्शनको लागि कर गरेँ, बल्ल आउनुभयो । मेरो प्रयास रहृयो- प्रमाणित गर्ने कि बुबा-आमा, मैले जागिर छाडेर ठीक गरेँ । परदेश आएर एकदम ठीक गरेँ । यो-यो कारण ठीक गरेँ । फेरि आमाको मौनता नै । बुबा त बोल्नुहुन्थ्यो, ँहैन बाबु, जे भए पनि... ।' तर आमा मौन । मनमनै चित्त बुझाएँ । मेरी आमा, मेरो कदमप्रति सकारात्मक ।
तर अनायास एकदिन आमाले हामी बसेर दुःख सुःखको कुराकानी हँुदा भन्नुभयो, ँबाबु, एउटा कुरा भनुँ ?' ँअब बूढाबूढी भइएछ, अरूप्रति आश्रति हुँदै गइँदो रहेछ, तिमीले जागिर नछाडेको भए, तिमी जहाँ-जहाँ सरुवा हुन्थ्यौं, हामी पनि सँगसँगै जाने सल्लाह गर्दैथ्यौँ... तर... ।' आमाले मौनता तोड्नुभयो । मैले सुनेँ वा सुनिन ? बुझेँ वा बुझनि ? तर आमाले मौनता तोड्नुभयो । मेरो धेरै रातको निन्द्रा गयो । आमाको त्यो मौनताभित्र कत्ति कुरा रहेछ, सन्तानले बुझ्नुपर्ने तर बुझ्न नसकेका । यसरी नै एकदिन नेपाल आमाले मेरी आमाले झैं मौनता तोडिदिइन् भने ? तर आमाहरूको मौनताभित्र पनि आˆनै सपना हुँदो रहेछ, आशा अनि अपेक्षा हुँदो रहेछ । समय क्रममा त्यो मौनता अनायास भंग हुँदो रहेछ । हे आमा, कहिलेकाहीँ समयमै मौनता भंग गरिदिनुपर्छ, जसले गर्दा कुनै पनि सन्तानले छट्पटिनु नपरोस् । चाहे त्यो मेरी आमा हुन् वा नेपाल आमा, आखिर आमा- आमा नै हुन् ।
-पुजनीय आमा प्रेमकुमारी श्रेष्ठको ७३औँ जन्मोत्सवको उपलक्ष्यमा दीर्घायु र सुस्वास्थ्यको कामनासहित) |